कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने राईमाटाङ चियाबारीका श्रमिकहरूले मंगलबार विहानदेखि कमान कार्यालय घेराउ गर्दै काम बन्द राख्दा कमानको स्थिति तनाउपूर्ण बनेको थियो। १७ दिनको वेतन नदिएकोले नै मंगलबार श्रमिकहरूले काम बन्द राख्दै प्रबन्धक विरुद्ध विक्षोभ गर्दा कमानको स्थिति तनाउपूर्ण बनेको थियो भने घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर स्थिति नियन्त्रणमा ल्याउन सफल भएको थियो। अन्ततः कमानको मालिकले वेतन अनलाइन मार्फत श्रमिकहरूको ब्याङ्क खातामा पसाएको कर बीघा श्रमिकहरूको वेतन नपसेकोले कमानमा श्रमिकहरूले विक्षोभ प्रदर्शन जारी राखेको थियो।
कमानको भीए र प्रबन्धनपक्षले कमानको ट्रेड यूनियन प्रतिनिधि र श्रमिकहरूलाई कार्यालयमा डाकेर श्रमिकहरूको वेतन अनलाइन पेमेन्ट मार्फत पस्न शुरु भएको र विस्तारै स्टाफ सबस्टाफ औ बीघा श्रमिकहरूको वेतन पनि पस्ने तर कमानको काम सबैले सुचारु गरीदिने प्रबन्धनपक्षले यूनियन नेताहरूलाई निवेदन गरेको जनाएका छन्। कमानको तृणमूल चियाबारी श्रमिक यूनियनका सचिव जयलाल लामाले नयाँ मालिक पसेपछि सबै राम्रै काम भईरहेतापनि भने अनुसारको श्रमिकहरूको प्राप्य अधिकारहरू प्रदान नगरिएको र अहिले आएर श्रमिकहरूको प्रायः २५ दिनको वेतन नदिएकोले कमानको भरमा बसेका श्रमिकहरूको धैर्यको सीमा टुटेर कमानको भीएको कोठीमा नै विक्षोभ गरेको जनाएका छन्।