दार्जीलिङकी प्रथम विमान चालिका बनिन् साक्षी प्रधान

IMG-20230411-WA0218.jpg

दार्जिलिङ: दार्जीलिङको साधारण परिवेशमा पलिएर हुर्केकी छोर साक्षी प्रधान सम्भवत् यस भेकबाट प्रथम चोटी वाणिज्यिक विमान चालिका (कर्मसियल पाईलट) बन्न सक्षम भएर सम्पूर्ण दार्जीलिङ पहाडलाई गौरवान्वित तुल्याएकी छिन्। १० मई २००० मा जन्मेकी साक्षी प्रधान स्थानीय डीबी गिरी पथ (द प्रिन्टमास्टर) दार्जीलिङ निवासी रूकेशमणि प्रधान अनि बन्दना मुखिया (प्रधान)की एक मात्र सन्तान हुन्। दार्जीलिङको बेथानी पाठशालाबाट आफ्नो प्राथमिक स्तरको स्कूले शिक्षा प्रारम्भ गर्दै पछि लरेटो कन्भेन्ट पाठशालाबाट आईसीएससी परीक्षा उत्तीर्ण गरिन्। उच्च माध्यमिक स्तरमा विज्ञान विषयको अध्ययन गर्न उनले दिल्ली पब्लिक स्कूल सिलिगढीमा भर्ना लिए अनि त्यहीबाट उनले एआईएसएससीई परिक्षा उत्तीर्ण गरिन्।

प्रारम्भदेखि नै सरल, अनुशासनप्रिय अनि सोझो व्यक्तित्वकी धनी भएकी फलस्वरूप आफ्नो सम्पूर्ण स्कूले परीक्षाहरूमा अव्वल दर्जामा उत्तीर्ण गर्नका साथै साक्षी प्रधानले विद्यार्थी जीवनबाट नै एक कुशल अनि दक्ष विमान चालिका बन्ने प्रबल इच्छा बोकेकी थिइन्। २०१९ मा इण्डिगो क्याडेट पाईलट ट्रेनिङ्ग प्रोग्रामको निम्ति उनको छनौट भए पश्चात् स्काईबोर्न एभिएसन लिमिटेडको माध्यमबाट पहिले नयाँ दिल्लीमा ग्राउण्ड ट्रेनिङ्ग तत्पश्चात २०१९-२०मा संयुक्त राज्य अमेरिकाको एरिजोना (फिनिक्स)मा उनले उडान सम्बन्धि अध्ययन अथवा विमान चालिकाकोरूपमा सफलतापूर्वक तालिम हासिल गरी (एफएए) संयुक्त राज्य अमेरिकाको वाणिज्यिक विमान चालिकाको रूपमा लाइसेन्स प्राप्त गर्न सफल भईन्। पछिबाट भारत सरकारको उड्डयन मन्त्रालय अधीनस्थ डीजीसीए अन्तर्गत उत्तराखण्डस्थित पन्त नगरमा अझ तालिम हाँसिल गरे पश्चात् डीजीसीएद्वारा पनि उनलाई भारतीय वाणिज्यिक विमान चालीकाको रूपमा लाइसेन्स प्राप्त गर्ने अनुमोदन प्रदान गरे।

भारतीय वाणिज्यिक विमान चालिकाको रूपमा लाइसेन्स प्राप्तगरे पश्चात् केही समय कोविड लकडाउनको विलम्ब पछि यूएईको आबुदाबीस्थित एतियाद ऐयरवेजबाट उनले ए-३२० विमानको टाइपरेटिङ तालिम पनि सफलतापूर्वक हाँसिल गरिन्। हाल १५ मार्च २०२३को दिन इण्डिगो एयरलाइन्सद्वारा गुरुग्राम नयाँ दिल्लीमा अवस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित एक भव्य ग्य्राजुएसन समारोहमा (Graduation Ceremony) बिच उनलाई सम्बद्धना प्रदान गर्दै ए-३२० जुनियर फर्स्ट अफिसरको रूपमा नियुक्ति प्रदान गरेका छन्।

सबैको निम्ति शारीरिक, बौध्दिक अनि आर्थिकरूपमा उडान सम्बन्धि अध्ययन अथवा विमान चालिकाको रूपमा तालिम हासिल गर्न सम्भव हुँदैन। तरै पनि सम्पूर्ण अड्चनहरूको ससमय- सकुशल सामना गर्दै यति कलिलो उमेरमै आफ्नो अटल इच्छा शक्ति, अदम्य साहस प्रयत्न अनि परिश्रमको फलस्वरूप आजसम्म हाम्रै घर समाजको निम्ति एक नौलो क्षेत्रमा प्रवेश गरी दार्जीलिङ पहाडबाट प्रथमपल्ट एक महिला वाणिज्यिक विमान चालिकाको रूपमा वाणिज्यिक विमान लाइसेन्स प्राप्त गरी यो स्थान हाँसिल गरेर सम्पूर्ण विद्यार्थीवर्ग अनि युवा समाजको निम्ति आजको दिनमा साक्षी प्रधान एक प्रेरणाका स्रोत बनेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement