खरसाङ: खरसाङ महकुमा अन्तर्गत लङभ्यूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। सभालाई सम्बोधनमा राख्दै पार्टी प्रमुख अनित थापाले भने कि अहिले पहाडको हालत यस्तो भएको छ कि हामीसित घर पनि छैन जन पनि छैन। उनले पञ्चायत चुनावको प्रसंगमा जनतालाई सचेत गराउँदै भने कि चुनावको समय नेताहरु आएर यो गर्छु र त्यो गर्छु भन्नेछन्। तर चुनाव सकिन्जेल मात्र हो है। अब जनता सचेत भएका छन्। जसले काम गर्छ उसैलाई भोट दिन्छ।
गोर्खाल्याण्डको नाममा राजनीति गरेको इतिहास पुरानो होइन। आज पनि त्यही मुद्दा बारम्बार उठी बस्छ। गोर्खाल्याण्ड कै नाममा सांसद पठाएको भन्दै थापाले भने, “पहिलाको नेतालाई राजनीति गर्नु सजिलो थियो। गोर्खाल्याण्ड भन्यो राजनीति गर्यो। हामीले गोर्खाल्याण्डको नाममा कतिजना सांसद पठायौं? तर खोइ गोर्खाल्याण्ड? महाकाल बाबाको धामपट्टि फर्केर वर्तमान सांसदले गोर्खाल्याण्ड ल्याउँछु भनेर कसम पनि खाए कै हुन्। न उसको कसम रह्यो न त गोर्खाल्याण्ड नै पायौं। दिनु त केही छैन, हाम्रो पहाडको मजदुरको सय दिने रोजगारको पैसा पनि रोकी दियो। गोर्खाल्याण्ड त छोडी दिनुहोस् श्रमिकको पैसा पनि रोकिदियो। केन्द्रको सयदिने पैसा मजदुरको ब्याङ्क खातामा पस्छ। के धाँधली मजदुरले गरेका हुन्?” उनले सांसदमाथि कटाक्ष गर्दै भने, “मजदुरको पैसा रोकिदिने सांसदले गोर्खाल्याण्ड कहाँबाट ल्याउँछ?”
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावी घोषणा अनुसार नै काम गर्दै आएको छ भन्दै उनले भने कि मैले बाटो बनाउँछु भनेको थिए। विकास गर्छु भनेको थिए। विकासको काम हुँदैछ। पञ्चायती व्यवस्था फर्काएर ल्याउँछु भनेको थिए। अब पञ्चायत चुनाव पनि हुनेछ। पञ्चायत चुनाव भयो भने थुप्रै नयाँ नेताहरु जन्मने छ। कति नेतालाई डर छ कि अहिले हामीले पाएको सम्मान हराउनेछ। तर म कुर्सीको निम्ति राजनीतिमा पसेको होइन। हाम्रो मान्छे अघि बढोस् भन्ने चाहन्छु। हाम्रोमा अहिले घर पनि छैन, जन पनि छैन।”
पञ्चायत चुनावमा असल उम्मेदवार दिने सल्लाह दिँदै उनले भने, “पञ्चायत आफ्नो गाउँ अनि गाउँको व्यवस्था आफैले सम्हाल्ने राज हो। त्यसैले गाउँ वासीले गाउँको सबै भन्दा असल उम्मेदवारलाई उठाउनु होस। “
यसै सांगठनिक सभामा लङभ्यूको बरबोटबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( जीएनएलएफ) का सुरज घिसिङको नेतृत्वमा ५० घर पनि आज बीजीपिएम मा सामेल भएका छन्। सामेल भएको समय सुरज घिसिङले भने, ” कमान बन्द थियो। कमानवासी, यहाँका विद्यार्थी सबै अन्योलमा थिए। कमानवासी दैनिक रोजगार पाएकोले घरको आर्थिक अवस्था खराब भएको समय, अनित थापाले व्यक्तिगत रूपमा पनि कमानवासीलाई सहायता दिनुभयो। हामीले उहाँको गुण बिर्सेका छैनौं। त्यही गुण फर्काउँदै हामी पार्टीमा सामेल भएका हौं। गुण लगाउने मानिसलाई घुन लगाउनु मिल्दैन।”