सिलगढी: गत राति एनजेपी स्टेसन नजिक ट्रेनमा भएको फायरिङ घटनाको अझसम्म रहस्योदघाटन हुन सकेको छैन। गत राति कामाख्या आनन्दविहार एक्सप्रेस एनजेपी स्टेशन नजिक आइपुग्न साथ गोली चलेको आवाज सुनियो। यसपछि ट्रेनको बगीमा पूर्व सैनिक सञ्जय सिंह परमारको मृत्यु भएको थाहा पाइयो । प्राप्त जानकारी अनुसार मृतक व्यक्ति मध्यप्रदेशको ग्वालियर निवासी हुन्। तिनी ट्रेनको आरक्षित दोस्रो श्रेणीको बगीमा सवार भएका थिए। तिनको शव नजिक एउटा पिस्तोल पनि उद्धार भएको छ भने उक्त पिस्तोल संजय सिंह परमारकै रहेको जीआरपीले जाँचपछि पत्तो लगाएको छ। तथापि, आत्महत्याको घटना नरहेको पुलिसले अनुमान लगाएको छ। एनजेपीको जीआरपीले हत्याको मुद्दा दर्ता गरेर घटनाको जाँच सुरु गरेको छ। घटनाको समय उक्त व्यक्तिसँग ट्रेनको बगीमा रहेका अन्य यात्रीहरूसित पुलिसले सोधखोज गरिरहेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मदपान गरेको अवस्थामा उक्त व्यक्ति ट्रेनमा चढेको प्रत्यक्षदर्शीहरूको भनाइ रहेको छ। तिनी ट्रेनको माथिल्लो बर्थमा थिए भने त्यहाँ तिनले कसैलाई पनि बस्न दिएका थिएनन्। यसलाई लिएर झमेला भइरहेको थियो। यसपछि पिस्तोल निकालेर तिनले ३ राउण्ड गोली चलाएको भनाइ रहेको छ। आफैले चलाएको गोली लागेर उक्त व्यक्तिको मृत्यु भएको हो अथवा ट्रेनको बगीमा अरूसित हातापाईको घटना पनि घटेको थियो भन्ने विषयमा पुलिसले जाँच गरिरहेको छ आज मृतक व्यक्तिको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पोस्टमार्टम गरियो। उक्त व्यक्तिको परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी गराइएको छ। जुन बगीमा घटना घटेको थियो हाल उक्त बगी अलग्गै राखिएको छ। फरेन्सिक दललाई घटनाबारे खबर दिएको बताइएको छ।