गेजिङ। सिक्किमका पहिलो गायक एवं वरिष्ठ साहित्यकार पद्मश्री बी.बी. मुरिङला आज पञ्चतत्त्वमा विलीन भए। उनी सिक्किमका प्रथम गायक, नेपाली साहित्यका एक असल बाल कविताकार, निबन्धकार, लिम्बु साहित्यका धुरन्धर लेखक लिम्बु पाठ्यपुस्तक र संगितका कारिगर थिए। पश्चिम सिक्किमको लिङचोममै उनको अन्तिम संस्कार गरियो।

केही समयदेखि अस्वस्थ रहेका मुरिङलाको उपचारको क्रममा गत ८ जूनको दिन गान्तोकको एसटीएनएम अस्पतालमा निधन भएको थियो। उनको अन्तिम संस्कार कार्यमा आज राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, सांसद इन्द्र हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकार एम.पी.सुब्बा, जे.बी.सुब्बा, बिरेन्द्र तामलिङ लगायत लिम्बू समाजका प्रतिष्ठित व्याक्ति एवं स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
जानकारी गराइन्छ, स्वर्गीय मुरिङलाले सन १९६८ मा एचबीएम कोलकतावाट २ वटा नेपाली गीत रेकड गराएका थिए। ३ अप्रेल १९४३ मा पिता स्वर्गीय लालमान लिम्बु अनि माता सञ्चरानी लिम्बुको कोखबाट जन्मिएका मुरिङ्ला परिवारका कान्छा छोरा थिए। गाउँकै पाठशालाबाट प्राथमिक स्तरको शिक्षा ग्रहण गरेपछि गान्तोक टीएनएमा शिक्षा आर्जन गरेपछि दार्जीलिङको टोलबोल विद्यालयबाट १९६४ मा दशौंश्रेणी उतीर्ण भएका थिए। अध्यन गर्ने क्रममा सुब्बाले सन्त जोसेफबाट उच्च शिक्षा लिनसँगै आफ्नो घरको विविध परिस्थितिले गर्दा त्यहाँदेखि उताको अध्यन थाँतीमा राखेका थिए। राज्यको शिक्षा विभागका अतिरिक्त निर्देशक जस्तो उच्च पदमा रहेर अवकाश प्राप्त गरेका मुरिङ्ला साहित्यकारका रुपमा आफ्नो शीर्ष पहिचान बोकेका बी.बी. मुरिङ्लालाई साहित्य क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै वर्ष २०१७ को १४ अप्रेलका दिन दिल्लीमा भारत सरकारको गृह मन्त्रालयद्वारा भारतको चौथो ठुलो पुरस्कार पद्मश्रीद्वारा सम्मानित गरिएको थियो।