गान्तोक। केन्द्रमा भाजपा सरकारको गौरवशाली ८ वर्ष पूरा भएको अवसरमा गत १ जूनदेखि चलिरहेको राज्यव्यापी अभियान अन्तर्गत आज गेजिङ जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष श्री डीबी चौहान मुख्य अतिथिको रूपमा उपस्थित थिए भने जिल्ला अध्यक्ष दिगम लिम्बू, महासचिव लक्ष्मी प्रसाद शर्मालगायत जिल्ला कार्यसमितिका सदस्यगण, मण्डल अध्यक्षगण, अन्य पदाधिकारीगण साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष दिगम लिम्बूले मोदी सरकारका विविध उपलब्धिहरूमाथि बोल्दै विगत आठ वर्षमा भाजपा सरकारले पश्चिम जिल्लालाई विभिन्न सौगातहरू दिएको बताए। विगत लामो समयदेखि विकासबाट वञ्चित रहेको पश्चिम जिल्ला (हाल सोरेङ अनि गेजिङ जिल्ला)-लाई मोदी सरकारले २०१८ मा आकांक्षी जिल्लाहरूको सूचीमा सामेल गरेर पश्चिम सिक्किमवासीलाई न्याय दिएको बताए। गत महिना मात्र विभिन्न केन्द्रिय मन्त्रीहरूले यस आकांक्षी जिल्लाको भ्रमण गरेर यहाँ भइरहेका विकासीय गतिविधिको निगरानी तथा निरीक्षण गरेको बताउँदै यसले जिल्लाको विकासमा थप तीव्रता प्रदान गर्ने बताए। उनले यस वर्षको केन्द्रीय बजेटमा पेलिङमा नयाँ रोपवे निर्माणको निम्ति ६४ करोड़को धनराशि सीधा केन्द्रबाट आवण्टन गरिएको, प्रधामन्त्री जन विकास कार्यक्रम अन्तर्गत सोरेङमा १०० पलङयुक्त जिल्ला अस्पतालको निर्माण भइरहेको, सरकारी महाविद्यालय, याङथाङमा १०० पलङयुक्त बोइज होस्टल, कर्जीमा प्राथमिक स्वास्थ्य केन्द्र, सोरेङ र गेजिङ जिल्लाका लगभग ४० वटा स्कूलहरूमा स्मार्ट क्लासका उपकरणहरू प्रदान गरिएका आदि उपलब्धिहरू पेश गरे। यस अतिरिक्त जल जीवन मिशन अन्तर्गत जिल्लाका हरेक घरहरूमा स्वच्छ पिउने पानी पुऱ्याउने काम युद्धस्तरमा चलिरहेको पनि जिल्ला अध्यक्ष लिम्बूले उपस्थित कार्यकर्ताहरूलाई अवगत गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्षले विभिन्न केन्द्रिय जनकल्याणकारी योजनाहरूमाथि प्रकाश पार्दै यसले विगत आठ वर्षमा गरीब जनताको जीवनस्तरलाई माथि उठाएको बताए। उनले केन्द्र सरकारले पश्चिम जिल्लामा विभिन्न विकासीय पूर्वाधारहरू निर्माण गरिरहेको बताउँदै भाजपा सरकारले यसमाथि चनाखो भएर निगरानी राख्नुपर्ने तथा कतै लापर्वाही भएको खण्डमा आवाज उठाउनुपर्ने कुरामा जोर दिए।
कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको समापनपछि स्थानीयवासीहरूलई पार्टीद्वारा प्रकाशित उपलब्धिहरू उल्लेख गरिएको पत्रिका वितरण गरियो।