सिलगढी: गर्मीको समयमा धेरै सङ्ख्यामा पर्यटकहरू दार्जीलिङ घुम्न आउने गर्दछन्। दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई टोय ट्रेन यात्रा मुख्य आकर्षणको केन्द्र हो। आज अचानक एनजेपी स्टेसनबाट १० बजेको टोय ट्रेनको यात्रा रद्द गरियो। यसले गर्दा कतिपय दार्जीलिङ घुम्न आउने पर्यटकहरूले क्षोभ प्रकट पनि गरेका छन्। आज तेलङ्गना, असम, कोलकता लगायत विभिन्न ठाउँहरूबाट पर्यटकहरू एनजेपी स्टेसनमा आइपुगेका थिए। टोय ट्रेनमा चढेर दार्जीलिङ घुम्न जानको लागि धेरैजना पर्यटकहरूले अगावै टिकट काटेर स्टेसनमा प्रतीक्षा गरिरहेका थिए।

टोय ट्रेनमा यात्रा गर्नको लागि पर्यटकहरू निक्कै उत्साहित थिए। तर ट्रेन छुट्नु भन्दा लगभग एक घण्टा अघि इञ्जिनमा खराबीको कारण टोय ट्रेन परिसेवा रद्द गरिएको बारे रेलवेको तर्फबाट सूचना जारी गरियो।यो खबर सुन्नसाथ धेरैजना पर्यटकहरूले मन खिन्न गर्नको साथै कतिपय पर्यटकहरूले क्षोभ समेत प्रकट गरेको देखियो। यसपछि टोय ट्रेनको यात्रा गर्न नपाए पनि तिनीहरू सडक मार्ग भएर दार्जीलिङतर्फ प्रस्थान गरे।