गेजिङ: प्रत्येक वर्ष प्रदान गर्दै आएको लालमान सन्चरानी पुरस्कार यस वर्ष भने स्थगित गरिएको छ। पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यकारी समिति , स्रष्टा, पत्रिकाका सम्पादकहरुको एक सामुहिक सभाले यस कुराको निर्णय लिएको हो। पुरस्कार प्रायोजक पक्षले यस वर्ष स्थगित गर्ने र पुनः दोस्रो वर्षको निम्ति अघावै जानकारी गराउने भए पछि यो निर्णय लिएको सभामा जानकारी गराइयो। गेजिङ लिङ्चोम निवासी स्व बीबी मुरिङ्लाले आफ्ना स्व माता – पिता लालमान अनि सन्चरानीको नाममा वर्ष २००९ बाट प्रायोजन गरेर विभिन्न विधामा प्रकाशित पुस्तकहरुलाई प्राथमिकता दिएर उत्कृष्ट विधामा यो लालमान सन्चरानी पुरस्कार १३ जुलाई भानुजयन्तीको अवसरमा प्रदान गरिने गरेको थियो। यो पुरस्कारले सिक्किम राज्य मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा नै साहित्य जगतमा स्थान लिएको थियो। यस पुरस्कारका मुख्य प्रायोजक स्व बीबी मुरिङ्ला हुन भने उऩको परिवार पक्षले दोस्रो वर्षको निम्ति सूचना दिने भएको छ। आज बसेको सभामा सम्पादक एवं वरिष्ठ साहित्यकार दलमान मुखिया , गोबरधन बास्तोला, लक्ष्मी प्रसाद गुरुङ लगायत अन्यको उपस्तिथि रहेको थियो।