पहिलो नम्बरमै जीटीए सभामार्फत् गोर्खाल्याण्डको मांगमा प्रस्ताव ग्रहण गरेर राज्य र केन्द्रलाई पठाउने घोषणा
दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावको लागि आज दार्जिलिङबाट चुनाव घोषणा पत्र जारी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए क्षेत्रभरिमा सर्वाङ्गीण विकासको लक्ष्य राखेर काम गर्ने भएको कुरो उल्लेख गर्दै घोषणा पत्र जारी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो चुनाव घोषणा पत्रको पहिलो नम्बरमा नै जीटीए बोर्ड गठन गरेपछि प्रथम सभामा नै ‘गोर्खाल्याण्ड’ गठनको निम्ति केन्द्र र राज्य सरकारलाई प्रस्ताव पठाउनेछन् घोषणा गरेका छन् भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन भारतको केन्द्र सरकार र राज्य सरकारद्वारा हस्ताक्षरित प्रशासनिक व्यवस्था भएको हुनाले यसमा विकास र प्रशासनसित सम्बन्धित महत्त्वपूर्ण विभागहरू समावेश भएको छ। यसर्थ क्रमिक रूपमा यस व्यवस्थालाई सुदृढिकरण गरेर पारदर्शी रूपमा सबै क्षेत्रका बेरोजगारहरूलाई नोकरीको निम्ति प्रतिस्पर्धा गर्ने दिशामा सरकारी निकायहरू गठन गरिदिने सरकारसित निवेदन गरिनेछ भनी बताइएको छ।
भागोप्रमोको घोषणा पत्रमा चियाबारी र सिन्कोनाबारीसित सम्बन्धित धेरै लामो समयदेखि थाँतीमा रहेका समस्याहरूलाई विशेष ध्यान दिइने र सबैको निम्ति जमीनको पर्चा-पट्टा, मिनिमम् वेज सरकारद्वारा अनुमोदन गराइनेछ भन्दै यसका साथै जीटीए क्षेत्रमा भएको चियाका “टी अक्सन सेन्टर’ यस
क्षेत्रमा नै बनाइनु पर्छ भन्ने माग गरिनेछ भने चियाबारीमा कार्यरत चिया श्रमिकहरूका छोराछोरीहरूलाई नै प्रशिक्षित बनाएर चियाबारीका विभिन्न पद अनि “म्यानेजर पदमा पनि नियुक्त गर्ने प्रस्ताव लिइनेछ भनी घोषणा गरिएको छ।
जीटीए स्टाफ, एमएसके एसएसके, प्राथमिक पाठशालाको भोलेन्टीयर्स शिक्षक, आईसीडीएस, आशाकर्मी, नगरपालिका कर्मचारीहरूका रूपमा कार्यरत् अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गरिनेछ घोषणा गरिएको छ।
त्यसरी नै थाँतीमा रहेको “बत्तीको बिल’-बारे छुटको निम्ति सरकारसित कुराकानी गरिने, पञ्चायत चुनाव’ सम्पन्न गराउने दिशामा कार्य गर्ने अनि पञ्चायतमा भएका रिक्त पदहरूमा नियुक्ति साथै यसका समस्याहरूलाई निर्मूल गर्ने दिशामा काम गरिने, जीटीए क्षेत्रमा गाडी चलाउने सम्पूर्ण ड्राइभर महानुभवहरूका निम्ति सिलगडी संलग्न सीमामा एउटा भवन बनाइने, ड्राइभर दाजू-भाइहरूका निम्ति विश्राम गर्ने, नुहाउने, मोबाइल चार्ज गर्ने, सीसी टिभी सुरक्षायुक्त विभिन्न सुविधा सम्पन्न ‘वाहन चालक भवन” निर्माण गरिने, सरकारी शर्तहरू पूरा गर्दै टेट परीक्षा उत्तीर्ण गरेका सम्बन्धि नियुक्तिको प्रक्रिया शुरु गर्ने, वर्ष २०२२ मा अन्तर्वार्ता दिएर २०१३ सालमा नियुक्ति प्राप्त शिक्षकहरूका निम्ति “नोशनल बेनिफिट -का निम्ति सरकारी मान्यता दिलाउने दिशामा काम गर्ने, जीटीए क्षेत्रभरि पिउने पानीको व्यवस्था लगायत दुर्गम क्षेत्रहरूलाई शहरसित जोड्ने काम गरिने साथै विभिन्न विभागका कार्यालयका रिक्त पदहरूमा नियुक्ति दिनका साथै आर्थिक रूपले सबैलाई सबल बनाउन नोकरी मात्र नभएर पर्यटन अनि स्वरोजगारको क्षेत्रसित सम्बन्धित सबै विषयहरूमा प्रशिक्षण उपलब्ध गराइने भएको छ। भागोप्रमोले जारी गरेको चुनाव घोषणा पत्रमा प्रत्येक शिक्षित युवावर्गलाई उद्योग-धन्धामा प्रेरित गराइनेछ साथै स्वनिर्भर बनाउने दिशामा काम गर्दै कौशल विकास कार्यक्रम अन्तर्गत सरकारी र गैर-सरकारी सुविधाहरू प्रबन्ध गर्ने भएको कुरा उल्लेख गरेका छन्।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज दार्जिलिङबाट जारी गरेको चुनाव घोषणा पत्रमा कालेबुङको मेला ग्राउण्डलाई स्टाडेडियमको रूपमा व्यवस्थित बनाइने साथै खेलकूदका विभिन्न क्षेत्रलाई प्रोत्साहन गर्न बुनियादी ढाँचा निर्माण गरिने उल्लेख गर्दै प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा पनि मञ्च प्रदान गरिने बताएका छन् । त्यसरी नै समष्टि स्तरका प्रत्येक गाउँले क्षेत्रहरूका खेल मैदानहरूलाई व्यवस्थित बनाइने, पैह्रोग्रस्त क्षेत्रका पैह्रोलाई रोकथाम साथै दीर्घमियादि समाधान खोज्न जीटीएबाट मात्र नभएर अन्य सरकारी निकायहरूको पनि सहयोग लिइने, जीटीए बोर्ड गठनपछि गाउँ-बस्तीका जीर्ण अवस्थामा रहेका प्राथमिक अनि उच्च-माध्यमिक स्कूलहरूलाई दश महीनाभित्रमा मरम्मति गरिने, कालेबुङ जिल्लामा त्रि-स्तरीय पञ्चायत चुनाव पूर्ण रूपले बहाली गर्ने दिशामा पहल गरिनेछ, जीटीए अधिनस्थ सबै स्थानमा अघिबाट नै निर्मित तर जीर्ण अवस्थामा रहेका पुल अनि सड्कहरूलाई पूर्ण रूपले मरम्मति गरिने, दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिक बजारभित्रका अव्यवस्थित रूपमा रहेका पानीका पाइपहरूलाई उचित ढङ्गले वितरण प्रणाली अन्तर्गत ल्याएर पिउने पानीका पाइपहरूलाई सँगाल्दै नाली-झोडालाई व्यवस्थित गरिने,
नोभेल्टी छेउको अधुरो मल्टी स्टोर कार पार्किङलाई पूर्णता प्रदान गर्न छ: महीनाभित्रमा सम्पूर्ण प्रक्रिया पूर्ण गरिने, दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकको निम्ति कार पार्किङ व्यवस्थालाई नयाँ रूपमा व्यवस्थित गरिनेछ साथै ठाउँ-ठाउँमा ओभरब्रिजको स्थापना गरिने,सरकारी स्कूल, कलेजहरू सँगसँगै प्राइवेट स्कूलहरूका समस्यालाई पनि चिन्हित गरेर जीटीए प्रशासनले पुरयाउन सक्ने सहयोग प्रदान गर्ने, जीटीए गठन लगत्तैपछि होम्स मिशन क्षेत्रको जमिन विवाद सुल्झाउने अनि डीआई फण्ड संलग्न क्षेत्रको पर्चा-पट्टा वितरणबारे प्रशासनिक कार्यलाई अघि बढाइने घोषणा गरिएको छ।
त्यस्तै प्रकारले कालेबुङ, खरसाङ, मिरिक अनि तराईका खेलाडीहरूको आकांक्षालाई पूर्ण गराउन भव्य “गोर्खा स्टाडियम’ क्रमैसित निर्माण गरिने, गाउँदेखि शहरमा विभिन्न अस्पताल वा उपचारका निम्ति आएका परिवारजनलाई बस्ने सुविधाको निम्ति महिला र पुरुष बेग्ला-बेग्लै “जनकल्याण रात्रि-निवास’ निर्माण गरिने, राष्ट्रीय र अन्तर्राष्ट्रीय क्षेत्रमा विभिन्न कला, साहसिक कार्य, शिक्षा आदिको क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका प्रतिभाहरूलाई सहयोग दिंदै टेवा प्रदान गरिने साथै धेरै समयदेखि कार्यरत सामाजिक-साहित्यिक-कला-खेलकुद आदि क्षेत्रका संघ-संस्थाहरूसित सहकार्य गर्दै कार्यक्रमलाई टेवा पुर्याइने जीटीए क्षेत्रको सम्पूर्ण गतिविधिलाई समेटेर संगीत, कला, शिक्षा, पर्यटन, सरकारी सहुलियत, सरकारी विवृत्ति आदिबारे प्रचार-प्रसार गर्नका निम्ति आफ्नै ‘जीटीए मिडिया सेल’ तयार गरिनेछ, जसका निम्ति जीटीए विभागका कर्मचारीबाहेक स्वतन्त्र मिडियाकर्मी, मिडिया हाउस, स्टुडियो सबैलाई संलग्न गराइने र यसका साथै जीटीए अधीनस्थ आफ्नै “एफएम” स्टेशन निर्माण गर्ने दिशामा प्रयास गरिने, आर्थिक रूपले पछौटे तर पढ्नमा अब्बल स्कूल-कलेज र यूनिवर्सिटीका विद्यार्थीवर्गलाई वार्षिक रूपमा आर्थिक सहयोग प्रदान गरिने, यस कार्यलाई प्रमुख सामाजिक संघ-संस्थाको देखरेख मार्फत आर्थिक सहयोग वितरण गरिने अनि राज्य अनि राष्ट्रिय स्तरका शैक्षिक संस्थानहरूमा जीटीए क्षेत्रका विद्यार्थीवर्गका निम्ति स्थान आरक्षित गर्नलाई प्रयास गरिने र यी संस्थानहरूमा योग्य अनि आर्थिक रूपले पछौटे विद्यार्थीवर्गलाई विशेष प्राथमिकता दिइनेछ भने जीटीए क्षेत्रमा भएका सुन्दर प्राकृतिक ठाउँहरूलाई चिन्हित गरेर ‘पर्यटनस्थल’ अनि ‘पार्क- निर्माण गरिने। यसबाहेक ठाउँ-ठाउँमा जनसाधारणको सुविधाको निम्ति प्रत्येक समाज-संस्था साथै सरकारी निकायको देखरेखमा बाटो छेउछाउ सार्वजनिक शौचालयहरूको निर्माण गरिनेछ। शहर-बजारमा वृद्धवस्थाका मानिसहरूलाई विश्रामघर अनि गाउँले सड्कहरूमा हावाघर आदिको निर्माण गरिने विषयहरू उल्लेख गर्दै भागोप्रमोले चुनाव घोषणा पत्र जारी गरेका छन्। यस्तै प्रकारले जम्मा ३५ वटा विषयहरूलाई समेटेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावको लागि आफ्नो चुनाव घोषणा पत्र जारी गरेका छन्।