सिलगढी: गत शनिबार डाबग्राम-१ ग्राम पञ्चायत अन्तर्गत खोलाचन्द फाप्री, सिलगढीको एउटा बाटोको नाम “हाम्रो वैकुण्ठपुर रोड” नामाकरण गरिएको छ। दिउँसो तीन बजे सम्पन्न भएको एउटा कार्यक्रममाझ खोलाचन्द फाप्रीका वर्तमान पञ्चायत सदस्य दिनेश मण्डल, पूर्व पञ्चायत सदस्य नेत्रप्रसाद शर्मा, हाम्रो वैकुण्ठपुर पत्रिकाका संस्थापक विकास तिम्सिना लगायत क्षेत्रका धेरै सचेत मानिसहरूको उपस्थितिमाझ “हाम्रो वैकुण्ठपुर रोड” नाम लेखिएको साइनबोर्डको विधिवत उद्घाटन गरिएको हो।
स्मरण रहोस्, हाम्रो वैकुण्ठपुर पत्रिका विगत २०१८ मा भारत सरकारको समाचार पत्रहरूको पञ्जिकरणको कार्यालयद्वारा सरकारी रुपमा पञ्जिकृत द्वैमासिक पत्रिका हो, जसको सम्पादक/प्रकाशक विकास तिम्सिना हुन्। उक्त पत्रिका डाबग्राम-१ ग्राम पञ्चायत क्षेत्रको पहिलो सरकारी पञ्जिकृत नेपाली पत्रिका भएको कारण डाबग्राम-१ ग्राम पञ्चायत कार्यालयद्वारा क्षेत्रका मानिसहरूलाई सम्मानस्वरुप यहाँको एउटा बाटोको नाम “हाम्रो वैकुण्ठपुर रोड” गरिएको हो।