फेरि विवादमा परेपछि दलाई लामाले मागे माफी

Untitled-1-copy-27

दिल्लीः दलाई लामाले एक बालकलाई ‘मेरो जिब्रो चुस’ भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो “शब्दका कारण पुगेको चोट” का लागि क्षमायाचना गरेका हुन्। उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। “उहाँ [दलाई लामा] आफूले भेटेका मानिसहरूलाई सार्वजनिक स्थान र क्यामराअगाडि प्रायः अबोध र रमाइलो किसिमले जिस्काइरहनुहुन्छ। उहाँलाई यो घटनामा पश्चात्ताप छ,” उनको कार्यालयले भनेको छ।उक्त भिडिओ सार्वजनिक भएपछि दलाई लामाको धेरै आलोचना भएको छ।दलाई लामाको कार्यालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार ती बालकले दलाई लामालाई अङ्कमाल गरौँ भनेर सोधेका थिए। प्रतिक्रियामा दलाई लामाले आफ्नो गाला देखाउँदै “पहिला यहाँ” भने। ती बालकले दलाई लामालाई गालामा चुम्बन गरे अनि अँगालो हाले। त्यसपछि ती बालकको हात समाएर दलाई लामाले आफ्ना ओठ देखाउँदै “यहाँ पनि” भने अनि ती बालकको ओठ चुमिदिए। त्यसपछि दलाई लामाले ती बालकको निधारसँग आफ्नो निधार जुधाए र आफ्नो जिब्रो मुखबाट बाहिर निकाल्दै भने, “मेरो जिब्रो चुस।” त्यो सुनेर अरू मानिसहरू हाँसे। बालक र दलाई लामा दुवै जनाले आआफ्नो जिब्रो बाहिर निकाले। त्यसपछि फेरि अङ्कमाल गर्दै दलाई लामाले ती बालकसँग केही बेर कुरा गरे। उनले ती बालकलाई “शान्ति र खुसी सिर्जना गर्ने असल मानव” बन्ने सुझाव दिए। उक्त घटना गत फेब्रुअरी २८ मा भारतको धरमशालास्थित उनको मन्दिरमा भएको बताइएको छ। उक्त दिन दलाई लामाले १२० जना विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए। उक्त अन्तर्क्रिया आयोजना गर्ने संस्थाले मार्च महिनामा भएका कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो। तीमध्ये अहिले चर्चामा रहेको भिडिओमा देखिने बालकसँग अङ्कमाल गरेको तस्बिर पनि छ।

तिब्बती परम्परा

तिब्बती परम्परामा कसैलाई अभिवादन गर्न मुखबाट जिब्रो बाहिर निकाल्ने चलन पनि छ।चिनियाँ शासनविरुद्ध विद्रोह भएपछि सन् १९५९ मा तिब्बतबाट भागेका दलाई लामा भारतमा निर्वासनमा छन्।उनको वास्तविक नाम तेन्जिङ ग्यात्सो हो। उनी दलाई लामाका १४ औँ अवतार हुन्।तिब्बतका एक प्रमुख लामाका रूपमा पुजिने दलाई लामालाई तिब्बती बौद्ध परम्पराअनुसार अवलोकितेश्वरको अवतार मानिन्छ।

पहिला पनि परेका थिए विवादमा

सन् २०१९ मा बीबीसीकी रजिनी वैद्यनाथनलाई दिएको एउटा अन्तर्वार्तामा दलाई लामाले आफ्नो उत्तराधिकारी महिला पनि हुनसक्ने भनाइ दोहोर्‍याएका थिए।तर ती महिला ‘आकर्षक’ हुनुपर्ने उनको टिप्पणी रहेको थियो।त्यसअघि सन् २०१५ मा पनि उनले आफ्नो उत्तराधिकारी यदि महिला भएमा उनी आकर्षक हुनु पर्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।त्यसै प्रसङ्गमा आफ्नो धारणा अघि सार्दै दलाई लामाले सौन्दर्य बुद्धिजत्तिकै महत्त्वपूर्ण रहेको आफ्नो विश्वास रहेको बताएका थिए।”यदि महिला दलाई लामा आइन् भने उनी अझै आकर्षक हुनुपर्नेछ,” अन्तर्वार्ताको क्रममा उनले हाँस्दै भनेका थिए।उक्त टिप्पणी विवादित भएपछि उनले क्षमा माग्नुपरेको थियो।उनको कार्यालयले दलाई लामाले ठट्टा गरेर त्यसो भनेको जनाएको थियो। उनको भनाइले अरू मानिसको भावनामा चोट पुगेकाले दलाई लामाले माफी मागेको उनको कार्यालयले जनाएको थियो।”कहिलेकाहीँ यस किसिमका टिप्पणीहरू सन्दर्भभन्दा टाढा हुन्छन्, यिनको सांस्कृतिक सन्दर्भ भिन्न हुन्छ। अनि फेरि ठट्टा गरेको कुरा कुनै एउटा भाषाबाट अर्को भाषामा जाँदा त्यसको हास्यरस हराउँछ। दलाई लामालाई यो कुरामा धेरै खेद छ,” त्यति बेला भनिएको थियो। उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा दलाई लामाले आफ्नो पूरै जीवनमा महिलालाई वस्तु ठान्ने विचारको विरोध तथा महिला र पुरुषबीच समानता हुनुपर्ने कुराको समर्थन गर्दै आएको लेखिएको थियो।दलाई लामाले शरणार्थीहरूबारे गरेको टिप्पणी पनि विवादित भएको थियो। उनले युरोपियन युनियनका शरणार्थीहरू स्वदेश फर्किनुपर्ने बताएका थिए।पछि उनले यस विषयमा स्पष्टीकरण दिँदै आफूले भनेको कुराको अनर्थ लगाइएको बताए।अन्तर्वार्तामा उनले तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै उनमा नैतिकताको कमी भएको बताएका थिए।अत्यन्त खुला अन्तर्वार्ताका क्रममा दलाई लामाले ट्रम्प, आप्रवासनको समस्या, चीनको राजनीति, तिब्बतको भविष्य, आफू तिब्बत फर्किन सक्ने सम्भावना आदि विषयमा आफ्ना धारणा राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement