दार्जीलिङ: जीटीए बारेको मुद्दा बारे तसै महिना २१ जुनको दिन कोलकाता उच्च अदालतमा हुने भएको छl उच्च अदालतप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष मन घिसिङले आफू आशावादी रहेको विज्ञप्ति जारी गरेर बताएका छन्l जीटीएले जनताको भावना अनि आंकाक्षा पूरा गर्दैन भन्दै उनले विज्ञप्तिमा यसो भनेका छन्, ‘म देशको न्यायलयप्रति पूर्ण आशावादी छु, प्रश्न यहाँ जीटीएको वैधानिकता माथि होइन, तर जीटीए जस्तो व्यवस्थाले हामीलाई छिन्न भिन्न बनाएको छ। जुन विश्वासका साथ गोर्खा जातिले न्याय पाओस भनि भारतीय जनता पार्टीलाई आफ्नो बहुमुल्य भोट दिएर दार्जीलिङ लोकसभा क्षेत्रबाट भारी मतले विजयी बनाएर राजु बिष्टलाई सांसद बनाएका हुन्। यसका साथै गत विधानसभा चुनावमा पनि गोर्खाहरुले स्थायी राजनैतिक समाधानको निम्ति आफ्नो बहुमुल्य मतदान गरेका थिएl गोर्खाहरुको मन जित्न केन्द्र सरकारले अब सुनवाइ गर्नुपर्छ भनी म अपिल गर्दछुl’ सबै एक भएर केन्द्र सरकारलाई दवाब दिए चाडैं नै न्याय पाउने उनले आफ्नो विचार प्रकट गरेका छन्l ‘म यो पनि विश्वास गर्दछु पहाडक सम्पूर्ण राजनैतिक दलले गोर्खा हितको निम्ति नै सोच्छl एकता नै तपाईं हाम्रो मूल समस्याको समाधान हो, दह्रिलो खुट्टा टेक्नु पर्छ तब मात्र सरकारले हाम्रो मुद्दाको सुनवाइ गर्नेछ भनेर मैले विश्वास गरेको छु। हाम्रो यो पीढीले नै गोर्खा जातिको भविष्य सुनिश्चित गर्नेसके हाम्रो उद्धार हुनेछ, नत्र हाम्रो भविष्य अन्धकार हुने मैले आभाष गरेको छुl’
विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘जब गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङको देहान्त भयो मलाई अध्यक्षको पदमा पार्टीले जिम्मेवारी सुम्पियो। मेरो निम्ति जीवनमा सबैभन्दा ठूलो चुनौतीपूर्ण कार्य थियो। किनकी यहाँ अध्यक्ष पद मात्र होइन तर जाति र माटोको उनमुक्तिको निम्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले लगातार आफ्नो कार्य गरिरहेका थिएl’ ‘मैले अझैसम्म राजनीति गरेको पनि छुइनँ, तर जाति र माटोको उन्मुक्तिको निम्ति मैले कम्मर कसेको छु। मैले राजनीति नै गर्नु हो भने गर्थे, तर त्यसले केवल व्यक्तिगत हिसाबमा मात्र लाभ हुन्थ्यो, तर जाति र माटोको उद्धार हुने थिएन। मलाई थाहा छ आजको दिनसम्म हाम्रो उद्धार भएको छैन, तर हाम्रो प्रयास जारी छl मैले हिम्मत हारेको छुइनँ म लागि परेको छु र हामी सफल हुन्छौंl तर जाति र माटोको उन्मुक्तिको लडाई भनेको मेरो निम्ति मेरो दलको निम्ति मात्र होइन यो त समग्र गोर्खा जातिको निम्ति होl यसको निम्ति सम्पूर्ण गोर्खा जाति एक भएर अघि आउनु पर्छ तब सरकारले पनि हाम्रो कुरा सुन्छl’