सिलगढी: विश्व नेपाली साहित्य महासंघ-भारत शाखाको आयोजनामा मास्टर मित्रसेन थापाको ७७औं पुण्यतिथिको अवसरमा भर्चुअल रुपमा अनलाइन कार्यक्रम मार्फत् ‘मास्टर मित्रसेन थापा बारे चर्चा साथै कविता गोष्ठी’ सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघ भारत शाखाका अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता साथै सचिव कवी सुमित्रा अविरलले कार्यक्रम सञ्चालन गरेका थिएl कार्यक्रममा प्रमुख वक्ताको रुपमा वरिष्ठ साहित्यकार हरेन आले, प्रमुख अतिथि ज्ञानबहादुर छेत्रीलगायत संस्थाका प्रमुख सल्लाहकार डा० सुकराज दियाली, साहित्यकार शरद छेत्री, डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवास, बाग्राकोट डुवर्सबाट निबन्धकार अजय खडका उपस्थित थिए।
कार्यक्रमको प्रारम्भमा सिक्किमबाट छन्द कवि मोहन गौतमले आफ्नो कविता सुनाएपछि प्रमुख वक्ताका रुपमा आमन्त्रित वरिष्ठ साहित्यकार हरेन आलेले मास्टर मित्रसेन थापा बारे आफ्नो वक्तव्य राखे। सैनिक जीवनपछि पनि सङ्गीत, कला अनि नेपाली साहित्य क्षेत्रलाई अंगालेर लगभग नौवटा काव्य, ११ वटा खण्डकाव्य, १०० वटा जति गीत अनि २५/३० वटा जति गीतको डिस नेपाली समाजलाई दिएर जाने मास्टर मित्रसेन थापामा दैविक शक्ति नै रहेको प्रमाण हुँदछl उनको मृत्यपर्यन्त पनि सम्पूर्ण भारतीय नेपाली समाजकै प्रयासमा ‘भारत रत्न’ जस्तो गौरवमय पुरस्कारले सुशोभित गराउन सके असल हुने थियो भन्ने मन्तव्य वक्तव्यको क्रममा राखे। शास्त्रीय सङ्गीतमा मास्टर मित्रसेन थापाको गहिरो अध्ययन थियो। पाकिस्तानको लाहोरमा गएर उनले शास्त्रीय सङ्गीत बारे अध्ययन गरेका थिए। तत्कालीन पंजाबको संस्थाले पनि उनिहरुको धर्म प्रचारकको रुपमा उनलाई लाहोर पठाएको कुरो कतै उल्लेख गरिएको हुनाले उनी बारे अझ थप अनुसन्धान गर्न भारत अथवा नेपाल सरकारले त्यस ठाउँमा कुनै शोधार्थी पठाउन सके उनी बारे धेरै कुरो उजागर हुने थियोl उत्तराञ्चलमा पर्ने भाग्सु, देहरादुनमा रहने मिश्रित जातिको जनजीवन र संस्कृतिमाथि मित्रसेन थापाको प्रभाव बारे जान्न र बुझ्न आजको आवश्यक्ता रहेको हरेन आलेले बताए।
पाल्पा नेपालका चर्चित मुक्तकार गोम विक्रमले पनि मित्रसेन थापा बारे थप जानकारीमूलक उनको जीवनी प्रस्तुत गरेl समिक्षात्मक वक्तव्य राख्ने क्रममा सुनिल राई प्रणामीले भने, ‘उपन्यासकार विजय हिताङद्वारा लेखिएको ३८० पृष्ठ , २५ अध्यायको उपन्यास ‘लाहुरेको रेलीमाई’ प्रकाशोन्मुख रहेको छl’ सांग्रीला काठमाडौं च्याप्टरको प्रकाशनमा ८० प्रतिशत सत्य घटनामा आधारित उक्त उपन्यास प्रथम विश्व युद्धलाई पृष्ठभूमि बनाएर लेखिएको पहिलो उपन्यास मान्न सकिने बताए।
कार्यक्रमका प्रमुख अतिथि साथै संस्थाका सल्लाहकार ज्ञानबहादुर छेत्रीले भने, ‘भारत अनि नेपाल दुवै राष्ट्रले डाक टिकट समेत जारी गरिसकेका मास्टर मित्रसेन थापाको अवदान बारे नेपाली समाजले उनी बारे यथेष्ट जान्न अति नै आवाश्यक रहेको छl’ भारत र नेपालका वरिष्ठ कवि तथा साहित्यकारहरु क्रमैले छन्द कवि मोहन गौतम, भिम विरही, सरस्वती शर्मा, सानु भट्टराई, निमा तामाङ, सीता छेत्री, विष्णु बराईली, प्रकाशचन्द्र शर्मा, निरु विन्दु , शान्ती भुजेल, दिल ठकुरी, ग्याल्पो लामा, सुनिल राई, पाल्पा नेपालबाट चर्चित मुक्तककार गोम बिक्रम आदि कार्यक्रममा उपस्थित थिए।