जलपाइगढी: यस क्षेत्रका स्थानीय बासिन्दाहरूले तृणमूलका पञ्चायत प्रधान र पञ्चायत सदस्यलाई घेरेर कडा विरोध गरेका छन् आक्रोशित जनताले जलपाइगढी हल्दिबारी सडक करिब तीन घण्टासम्म अवरुद्ध पारे। जलपाइगढी सदर ब्लकको मण्डल घाट ग्राम पञ्चायतको सौदागर पाडादेखि बाबुपाडासम्मको जीर्ण सडक मर्मतको मागलाई लिएर लामो समयदेखि सौदागर पाडाका बासिन्दा आक्रोशित छन्। आज उक्त क्षेत्रमा नेताहरू भेटिएपछि उनीहरूले घेरा हालेर विरोध प्रदर्शन गरेका हुन्। सडक मर्मत नगरे चुनाव बहिस्कार गर्ने धम्की दिएका छन्। अवरोधकारीहरूले सडक छिट्टै मर्मत नगरे पञ्चायतको निर्वाचनमा भाग नलिने बताएका छन्। घटनाको जानकारी पाएलगत्तै जलपाइगढी थानाको पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।