कुचबिहार: मोटरसाइकल र मारुती भ्यानबीच भएको ठक्करबाट तीन बाइक सवारको मृत्यु भएको छ। घटना दिनहाटाको रथबारी क्षेत्रमा भएको हो। मृत्यु हुनेमा सुब्रत बर्मन (२६), निखिल बर्मन (२७), आशुतोष बर्मन (२५) रहेका छन्। उनीहरू सबै सिताईको धुमार खाटे क्षेत्रका बासिन्दा हुन्।थाहा भए अनुसार,मृत तीन युवा गएराति करिब ११ बजेतिर दिनहाटाबाट गोसानिमारीतर्फ मोटरसाइकलमा जाँदै थिए। यसै समय विपरित दिशाबाट आउँदै गरेको मारुती भ्यानसँग ठोक्किन पुग्यो। मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भयो। स्थानीयवासीले घटनाबारे स्थानीय पुलिसलाई खबर गरेपछि पुलिस र दमकल आएर तीनै जनालाई उद्दार गरी दिनहाटा डिभिजनल अस्पताल पुऱ्याएका थिए। जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषित गरे।