१० अप्रेलः ईंग्लिश प्रीमियर लीगको शीर्ष स्थानमा रहने आर्सनल विरुद्ध लिभरपूल जसोतसो हार्नदेखि बाँच्यो। आइतवार राति यी दुई शक्तिशाली टीमबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूल लगभग अन्तसम्म पनि एक गोलले पछि रहेको थियो तर बेञ्चबाट मैदानमा पसेर ८७औं मिनटमा गोल गरी अनुभवी रोबर्टो फिर्मिनोले लिभरपूललाई २-२-को बराबरीमा पुऱ्याए। यसअघि म्याचको मध्यान्तरसम्म आर्सनल २-१-ले अघि रहेको थियो। आर्सनलबाट गेब्रिएल मार्टिनेल्लीले आठौं र गेब्रिएल जीससले २८औं मिनटमा गोल गरे। यसरी नै लिभरपूलबाट मोहामेद सालाहले मध्यान्तर अघि ४२औं मिनटमा गोल गरे।

यस म्याचपछि आर्सनल ३० वटा म्याचमा ७३ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ६ पोइण्ट अधिक रहेको छ। सिटीले एउटा म्याच चाहिँ कम्ती खेलेको छ। यसरी नै लिभरपूल २९ वटा म्याचमा ४४ पोइण्टको साथ आठौं स्थानमा रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा क्रिस्टल प्यालेसले लीड्स युनाइटेडलाई ५-१-ले पराजित गऱ्यो। मध्यान्तरसम्म स्कोर १-१-को बराबरीमा रहे पनि क्रिस्टल प्यालेसले दोस्रो हाफमा लगातार ४ गोल गरेर म्याच जित्यो।