गान्तोक। आज एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले सिक्किम पुलिसमाथि गम्भीर आरोप लगाएका छन्। उनले पुलिसका केही अधिकारीहरूले सरकारको झोले चम्चे भएर सिक्किमलाई बिगार्ने काम गरेको आरोप लगाएका छन्। यसको साथै हिजो सिङ्गताममा भएको हिंसाको घट्नामा पनि सिक्किम पुलिस लिप्त रहेको पनि उनको आरोप रहेको छ। हिजोको हिंसामा जतिको हात गुण्डाहरूको छ त्यति नै सिक्किम पुलिसको पनि छ, भाइचुङ भोटियाले थप भने।
भाइचुङ भोटियाले सिक्किम पुलिसलाई निकम्मा अनि कमजोर पुलिस बलको संज्ञा दिएका छन्। उनले भने, सिक्किम पुलिसको अवस्था देख्दा दुःख लाग्छ। सिक्किम पुलिसको के नाम थियो के भएको छ। एक-दुई जना पुलिस अधिकारीहरूले झोले चम्चे गरेर सिक्किमलाई बर्बाद गर्नमा योगदान पुऱ्याइ रहेको छ। हिजोको घट्नाले पुष्टी गर्छ कि सिक्किम पुलिस कतिको कमजोर छ भनेर। हिजो केशव सापकोटमाथि आक्रमण हुँदा घट्नास्थलमा एकैजना पनि पुलिस देखिएन। तर, सिङ्गताम पुलिसले उनको पार्टीका अकजना सहयोगी केदार नाथ तिवारीलाई बिनाकारण पक्राउ गरेर एक रात थानामा राखेको उनले बताए।
भाइचुङ भोटियाले सिक्किम पुलिसलाई इमान्दार र निस्पक्ष भएर आफ्नो कर्तव्य पूरा गर्ने सुझाउ दिएका छन्। यसको साथै भोलीको दिनमा अर्को सरकार आएको खण्डमा सबै बैमान पुलिस अधिकारीहरूको एक-एकवटा बैमानीको हिसाब किताब गरिने चेताउनी पनि दिएका छन्।








