गान्तोक: भारत सरकारको इलेक्ट्रोनिक सूचना प्रविधि मन्त्रालयका सचिव अलकेश कुमार शर्माले आज पाकिमस्थित पाचेखानीमा निर्मित राष्ट्रीय इलेक्ट्रोनिक सूचना प्रविधि संस्थानको विधिवतरूपमा उदघाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अखिलेश कुमार शर्मालेले भविष्यमा सिक्किम आइटीको निम्ति केन्द्र बनिन् सक्ने सम्भावना व्यक्त गरे। विशेष गरेर प्रथम पल्ट सिक्किम आउन भएकोमा खुशी प्रकट गर्दै यहाँको अतिथ्य सत्कारको खुलेर प्रशंसा गरे। सिक्किम राज्यको जलवायु, वातावरणले गर्दा सिक्किम आइटी क्षेत्रमा देशको केन्द्र बनिन सक्ने उनले मन्तव्य प्रकट गरे। वर्तमान केन्द्र सरकारले उत्तरपूर्वी राज्यहरूलाई सबै कुरामा जोडेर लैजाने मनसाय लिएर विभिन्न प्रकारको योजना शुरू गरेको किटान गर्दै तकनिकी क्षेत्रमा देशले गरेको विकास सराहनीय रहेको बताए। उनले जानकारी गराएअनुसार १९८० को दशकमा कसैले फोन गर्नको निम्ति सिफारिश लिनु पर्थ्यो तर अहिले सबैले हात-हातमा मोबाइल रहेकोले कसैको सिफारिश लिनु साथै पर्खेर बस्नु पर्ने आवश्यकता नरहेको जानकारी गराए। वर्तमान परिपेक्ष्यमा सबैकुरा मानिसहरूले घरबाट नै मोबाइलको माध्यमद्वारा अनलाइन गर्न सक्षम बनिरहेको बताए। यस स्थानमा आइटी केन्द्र स्थापना गर्नको निम्ति राज्य सरकारले जमीन उपलब्ध गराएकोमा उनले राज्य सरकारलाई धन्यवाद दिँदै आभार प्रकट गरे। यस केन्द्रबाट धेरैले राम्र् प्रगति गर्न सक्ने बताउँदै सबै विद्यार्थीहरूलाई यसको लाभ उठाउनु पर्ने आग्रह गरे। यसै क्रममा आइटी विभागका अध्यक्ष नवराज गुरूङले यस संस्थानले विद्यार्थीहरूलाई समयको मागअनुरूप नयाँ तकनिकी शिक्षा प्रदान गर्नमा सहयोग गर्ने बताए। उनको भनाइ अनुसार यस प्रकारको गुणस्तरीय संस्थानले सिक्किम राज्यलाई भविष्यमा आइटीको क्षेत्रमा उँचाइमा पुऱ्याउन सक्ने सम्भावना व्यक्त गरे। सोही प्रकारले आइटी विभागका सल्लाहकार तेञ्जिङ नर्बु लाम्ठाले वर्तमान सरकारले आइटीको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए। छाङ्गु जस्तो ठाउँमा पनि जियोको टावर लगाएर स्थानीयहरूलाई सुविधा पुऱ्याएको जानकारी गराए। आजको यस कार्यक्रममा विभिन्न विभागका सचिववर्गले पनि सम्बोधन गरेका थिए।










