सिङ्तामको घटनामा एसकेएम-भाजपा गठबन्धन सरकार जिम्मेवार रहेको प्रदेश कङ्ग्रेसको ठहर

Untitled-1-copy-17

गान्तोकः सिक्किम प्रदेश कङ्ग्रेस कमिटीले शनिवार सिङताममा भएको घटनाको जवाफदेही एसकेएम-बिजेपी गठबन्धन सरकार हो भन्ने ठहर गरेको छ। प्रदेश कङ्ग्रेसका चेयरमेन गोपाल छेत्रीले गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर सिङ्ताममा भएको घटना प्रशासनको कम्जोरीका कारण भएको हो भन्दै जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटामाथि आक्रमण गर्नेहरूलाई झट्टै पक्राउ नगरे घटनाको जिम्मेवार एसकेएम सरकार साबित हुने बताए। जोइन्ट एक्सन काउन्सिललाई सिङताममा शान्ति जुलुस आयोजन गर्न दिएको भए कुनै अप्रिय घटना हुने थिएन भन्दै सिङताममा दङ्गा गराएर एसकेएम सरकारले आफ्नै घुँडामा बञ्चरो हानेको गोपाल क्षेत्रीले आरोप लगाएका छन्।

यसका साथै उनले सिङ्ताममा भएको घटना पूर्व नियोजित थियो भन्ने पनि आरोप लगाए। यस घटनालाई लिएर राज्यपाल र पुलिस महानिदेशकले पनि आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ भन्दै गोपाल छेत्रीले सिक्किममा लगातार भएका अशान्तिका घटनालाई ध्यानमा राखेर ऱाष्ट्रपति शासन लगाउनुपर्छ भन्ने पनि माग गरे। गोपाल छेत्रीले भने, सिङताममा पुलिस प्रशासनकै अघि जोइन्ट एक्सन काउन्सिलका महासचिवमाथि कुटपिट हुॅंदा पनि पुलिस र प्रशासन किन लाचार बनेर बस्यो। सिङतामको घटनाले पुलिसबाट जनताले सुरक्षा पाउँछ भन्ने विश्वास हराएर गएको छ। सिक्किममा प्रजातन्त्रको हत्या भएको छ। सरकारले प्रजातन्त्रको घाँटी निमोठेको छ। हामी यसको घोर निन्दा गर्दछौं। उनले सिक्किममा गुण्डाराज बढेर गएको आरोप लगाएका छन्। सिक्किममा अशान्तिको स्थिति सिर्जना गर्न एसकेएम-भाजपा गठबन्धन सरकार जिम्मेवार हो भन्दै गोपाल छेत्रीले भाजपा पनि सिक्किमे जनताप्रति जबाफदेही हुनुपर्ने बताए। यसका साथै उनले जोइन्ट एक्सन काउन्सिल राजनीतिक प्रेरित छ भन्ने आरोपहरूको खण्डन गर्दै काउन्सिल पूर्ण रूपमा सिक्किमेली जननताको हितको संगठन रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement