जलपाइगढी: ‘गजन’ पर्व भारत र बङ्गलादेशमा र विशेष गरेर पश्चिम बङ्गालमा मनाइने एक हिन्दू धार्मिक लोक पर्व हो। यस पर्वमा शिव, नील, मनसा र अन्य धार्मिक देवी-देवताहरूको पूजा गरिन्छ। जलपाइगढीमा गाजन पर्वलाई “गमिरा” पनि भन्ने गरिन्छ। चैत्र महिनाको अन्तिम साताभरि पुरै जिल्लामा भिक्षु वा शिवभक्तहरूद्वारा शिवगजनको आयोजना गरिन्छ। मानिसहरू विभिन्न देवी-देवताको पहिरन लगाएर घर-घर गएर चन्दा सङ्कलन गरी यो पर्व मनाउँछन् अनि चैत्र महिनाको अन्त्यमा “चडक पूजा” गरिन्छ।
धार्मिक मान्यता अनुसार भक्तहरूको पुकार सुनेर भगवान शिव र माता दुर्गा सम्पूर्ण परिवारसहित भक्तजनको घर-दैलोमा आउने गर्छन। सोही अनुरूप भक्तजनहरू जीवित देवी-देवताको भेष-भुषामा पूजा गर्न मानिसहरूको घर-दैलो जाने गर्छन् र चन्दा सङ्कलन गर्छन। विगत ४० वर्षदेखि चैत्र महिनाको अन्त्यमा चडक पूजा गर्ने गरेको क्रान्ति चौरङ्गीका सृजन दासले बताए। हरेक वर्ष यसैगरी पर्व मनाउने र चैत्र महिनाको अन्तिम दिन ‘चडक’ मेला आयोजना गर्ने पनि उनले जानकारी दिए।