कुचबिहार: शनिबार बिहान अर्ना भैैँसीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जबकि ७ घाइते मध्ये ३ जनाको कुचबिहार मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना कुचबिहार ब्लक १ को हाडीभंगा क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार बिहान ६ बजेतिर २ वटा अर्ना भैैँसीलाई स्थानीयवासीले मकै खाइरहेको देखेका थिए । यस घटनाको खबर एकै छिनमा इलाकाभरि फैलियो।
थाहा पाइए अनुसार,शनिबार बिहान वीरेन बर्मन नामक ब्यक्ति घरनजिकैको बाँसको झ्याङ अगाडि उभिरहेका थिए, अकस्मात पछाडीबाट अर्ना भैैँसीले आक्रमण गऱ्यो । आफन्तहरूले तत्काल उनलाई कुचबिहार अस्पताल पुर्याएतापनि डाक्टरहरूले उनलाई मृत घोषित गरे। ती दुई अर्ना भैैँसी कताबाट गाउँभित्र छिरे भन्ने अहिलेसम्म थाहा हुनसकेको छैन । पुलिस तथा वन विभागका अधिकारीहरू घटनास्थल पुगेतापनि अहिले सम्पूर्ण गाउँलेहरू आतङ्कित अवस्थामा छन्।