सिलगढी: सिलगढी महानगरपालिकाको न्यू जलपाइगढी थानाको पुलिसले एक व्यापारीलाई ठगी गरेको आरोपमा दिलीप बन्सल नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। जानकारी अनुसार,गत २६ जनवरीको दिन दिलीप बन्सलले सिलगढी शहरको छेउमा रहेको फुलबारीका एक व्यापारी प्रदीप डागालाई आफू सिलगढीको नयाँ बजार इलाकाका एक स्थापित व्यापारी भनेर परिचय गराएका थिए।प्रदीप डागाको विश्वासको लाभ उठाएर दिलीप बन्सलले तिनीबाट करिब ११ लाख रुपियाँ बराबरको ३० बोरा अलैंची लिएका थिए। उनले तीनदिन भित्र अलैंचीको मूल्य प्रदीपलाई दिने बताएका थिए । तर लामो समय बितिसक्दा पनि पैसा नदिएपछि प्रदिपले आफू ठगीएको महसुस गरे । त्यसपछि उनले सिलगढी महानगरीय पुलिस न्यू जलपाइगढी थानामा लिखित उजुरी दिए।
यसैबीच घटनाको जानकारी पाएपछि दिलीप बन्सल भूमिगत भएका थिए। नयाँ जलपाइगढी थानाको पुलिसले शुक्रबार घटनाको अनुसन्धान गरेपछि उनलाई सिलगढीको प्रणामी मन्दिर रोड इलाकामा रहेको उनको घरबाट पक्राउ गरेको छ। आरोपीलाई शनिबार जलपाइगढी अदालतमा पेश गरिएको छ।