अलिपुरद्वारमा तृणमूल महासचिव अभिषेक ब्यानर्जीको जनसभा

b7505976-6d0b-407b-884f-ec5b7068169e

कालचिनीः पूर्वघोषित कार्यक्रम अनुसार शनिबार डुवर्सको अलिपुरद्वार बाबुरहाटमा सर्वभारतीय तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको मुख्य उपस्थितिमा तृणमूलको विराट जनसभा सम्पन्न भयो। उक्त जनसभामा अलिपुरद्वार जिल्ला लगायत कोचबिहार जिल्लाबाट हजारौँको संख्यामा तृणमूल समर्थक अनि कार्यकर्ता तथा नेतृत्वहरूको उपस्थिति रहेको थियो। दिउँसो हेलिकप्टर मार्फत जनसभा स्थलमा आईपुगेका तृणमूल सर्वभारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीलाई भव्य स्वागत जनाईएको थियो। जनसभालाई सम्बोधन गर्दै अभिषेक ब्यानर्जीले केन्द्रको भाजपा सरकारले जति नै असहयोगिता गरे पनि तृणमूलले भाजपासित छात्ती ठोकेर राजनैतिक लड़ाई गर्ने अनि बंगाललाई गरेको उपेक्षाको बदला चुनाउ मार्फत दिने हुङ्कार गरे। केन्द्र सरकारको बलमा भाजपाले जति नै ईडी र सीबीआई लगाएर बंगाललाई लगाम लगाउन खोजे पनि यसको प्रतिवादमा बंगालको मानिसले डटेर लड़ाई गर्ने आह्वान गरे। भाजपाले जहाँ जहाँ उसको सरकार छ त्यहाँ कुनै सीबीआई र ईडी नलगाएको तर बंगालमा माँ, माटी र मानुसको सरकारसित राजनैतिक लड़ाई गर्न नसकेर निर्दोष जनताले सयदिने काम गरेको पैसा रोकेर गरीब जनताको स्याक्पा सुकाउने अपराध भाजपाले गरिरहेको र यसको जवाफ बंगालको जनताले दिने बताए।


तिनले सम्बोधनको क्रममा आगामी महीनादेखि नै तृणमूलको प्रत्येक बुथका नेताहरूले एक महीनासम्म सयदिने काम गरेर पैसा नपाएको मानिसहरूको घरमा पुगेर उनीहरूको सहीछाप सङ्ग्रह गर्ने र करोड़ करोड़ जनताद्वारा हस्ताक्षरित ज्ञापन प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाईने पनि घोषणा गर्दै बुथ स्तरीय नेताहरूलाई निर्देश दिए। जनसभाको मञ्चबाट तिनले पार्टी नेता अनि कार्यकर्ताहरूलाई लाखेस गर्दै आगामी पञ्चायत चुनाउ होस वा लोकसभा चुनाउमा जनताले रुचाएको प्रतिनिधिलाई नै प्रार्थी बनाईने र नेताहरूको मनमानीमा टिकट दिने र सिफारिश गर्न नदिईने पनि आह्वान गरे। जनताले जसलाई चाहन्छ त्यसलाई नै उभ्याईने अनि झुटो र जातिपातीको भेदभाव गर्नेहरूबाट जनता आफै सचेत बस्ने एवम् नेतृत्वहरूलाई साँचो अनि इमानदार भएर काम गर्ने अपील पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement