काशीमा रामकृष्ण शर्मा र नगेन्द्रमणि प्रधानका जन्म शतवार्षिकी

Ramkrishna-Sharma-Nagendra-Mani-Pradhan

वाराणसी: काशी हिन्दू विश्वविद्यालयको कला संकायअन्तगर्त भारतीय भाषा विभागको आयोजनामा आज रामकृष्ण शर्मा र नगेन्द्रमणि प्रधानका जन्म शतवार्षिकी पालन भयो। गुगलमिटको  अनलाइन माध्यमबाट भएको यस समारोहमा काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय तथा सिक्किम विश्वविद्यालयका साथै विभिन्न महाविद्यालयका अध्यापक र विद्यार्थी मात्र नभई विभिन्न साहित्यिक  सङ्घ-संस्थाका प्रतिनिधि अनि साहित्यानुरागीजनको संलग्नता रहेको थियो। नगेन्द्रमणि प्रधानका जेष्ठ सुपुत्र उदयमणि प्रधान र रामकृष्ण शर्माका कनिष्ठ सुपुत्र अनन्तज्योति शर्मा कार्यक्रमका प्रमुख आकर्षण थिए।  

विभागाध्यक्ष प्रो. दिवाकर प्रधानको अध्यक्षतामा भएको यस समारोहको थालनी शोधार्थी यादव सापकोटाको मङ्गलाचरण पाठ अनि शोधार्थीहरूद्वारा विश्वविद्यालयको कुलगीतबाट गरिएपछि सहायक प्राध्यापक डा. जगदीशन टी-ले स्वागत भाषण राखे। कार्यक्रममा प्रमुख अतिथि प्रो. प्रतापचन्द्र प्रधानले रामकृष्ण शर्मा र नगेन्द्रमणि प्रधानसित भएको निजी सम्बन्ध स्मरण गर्दै रामकृष्ण शर्मालाई प्रखर र निर्भीक समालोचक अनि नगेन्द्रमणि प्रधानलाई नेपाली भाषा र साहित्यका निरालस कर्मीका रूपमा मूल्याङ्कन गरे। विशिष्ट अतिथि प्रो मोहन पी दाहालले आजका दुई महान् वरेण्य पुरुषबारे अध्ययन नगरी नेपाली साहित्यको अध्ययन अधुरो हुने कुरा व्यक्त गरे। अतिथि प्रो कविता लामाले नगेन्द्रमणि प्रधानलाई साहित्य शोधका सहयोगी र स्त्रोत व्यक्ति अनि रामकृष्ण शर्मालाई समालोचनाका आदर्श व्यक्तिका रूपमा विवेचना गरिन्।

अतिथि प्रा. बलराम पाण्डेले रामकृष्ण र नगेन्द्रमणि भारतमा नेपाली भाषाको नवजागरणका शिखा भनी मूल्याङ्कन गरे। अतिरिक्त अतिथि उदयमणि प्रधानले आफ्ना प्रपिता पारसमणि प्रधानकै पालादेखि रामकृष्ण शर्मासित आफू सम्पर्कित भएको र मित्रपुत्रका नाताले आफू शर्माको प्रियपात्र बन्नसकेको घटना स्मरण गर्दै नेपाली भाषा शुद्धीकरणमा  आफ्ना बाबुको नगेन्द्रमणिको अहर्निश प्रयासबारे बोध गराए। प्रेस व्यवसाय लाभ भोगको माध्यम मात्र नभई भाषा सेवाको मार्गका रूपमा आफ्ना बाले ग्रहण गरेको र आफूले त्यही ज्ञानलाई अनुसरण गरिआएको आत्मस्वीकृति व्यक्त गरे। अतिरिक्त अतिथि अधिक्ता अनन्तज्योति शर्माले कलकत्तामा रहेका आफ्ना पिता रामकृष्णसँग तरुणकालसम्म निकटस्थ हुन नसकेको सत्य स्वीकार्दै अवकाश कालमा पिताले सबै शास्त्रको जड राजनीति भएको स्वीकारेका हुनाले स्वतन्त्र मञ्चको स्थापना भएको जनाए। उनले आफ्नो परिवारको वंशावलिबारे मीठो वृत्तान्त प्रस्तुत गर्दै साहित्य, समाज र राजनीतिविषयक रामकृष्ण शर्माको अवधारणा अवगत गराए। उनले पारसमणि परिवारसित आफ्नो परिवारको  अन्योन्याश्रित सम्बन्ध रहेको तथा आफूले परिश्रमको ज्ञान त्यस परिवारबाट पनि ग्रहण गरेको कुरा जनाए।  प्रो. पुष्प शर्मा, डा. गीता निरोलासहित विभिन्न अध्यापक तथा विद्वज्जनको उपस्थितिले समारोह सौन्दर्यवान् बनेको थियो। 

सभाध्यक्षले रामकृष्ण शर्माले विधि व्यवसायको ज्ञानलाई साहित्यमा पनि प्रयोग गरेर भानुभक्तविरुद्ध गजाधर सोतीकी घरबुढीको पक्षमा तर्क दिएको, सूक्तिसिन्धुलाई समर्थन गरेर यदुनाथ खनालसित शास्त्रार्थ गरेको र भावहरणको आरोप लाएर सम र देवकोटालाई समेत सचेत गराएको उल्लेख गर्दै सप्त शारदीय र दश गोर्खाको जन्मबारे तथ्य प्रस्तुत गरे। नगेन्द्रमणि प्रधानबारे बोल्दै नगेन्द्रकृत अकादमी पुरस्कार लब्ध ग्रन्थ पारसमणिको जीवनयात्रासहित कतै बिर्सिएला नेपाली भाषा र साहित्यबारे स्रोत ग्रन्थ रहेको, पाठशालामा दशौँ श्रोणीसम्म नेपाली माध्यम गराउन मानक शब्दकोश र स्तरीय पत्रिका निकाल्न लाहोरको प्रशासनिक व्यवसाय छाडेर दार्जिलिङ आईकन नगेन्द्रले चारवटा शब्दकोश र भारती पत्रिका निकालेको उल्लेख गर्दै नगेन्द्र आत्मशंसादेखि पृथक रहने भाषा र साहित्यका मौनकर्मीका रूपमा मूल्यङ्कन गरे। तमिलका सहायक प्राध्यापक डा. विघ्नेश अनन्तले धन्यवाद ज्ञापन गरेपछि सभा विसर्जित भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement