गान्तोक: फूटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडद्वारा गत ३० जनवरीदेखि आयोजित सिक्किम प्रीमियर लीगको फाइनल खेल भोलि शनिबार राजधानीस्थित पाल्जर स्टेडियममा भव्यताको साथमा सम्पन्न हुने भएको छ। भोलिको फाइनल खेलको कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित हुने आयोजक समितिले जानकारी गराएको छ भने अल इण्डिया फूटबल फेडरेशनका अध्यक्ष कल्याण चौबे विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनेछन्। भोलिको फाइनल खेल सिङ्लिङ स्पोर्टीङ क्लब वनाम आक्रमण स्पोर्टीङ क्लबमाझ सम्पन्न हुनेछ। फाइनल खेल अघि विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिने भएको छ। यो कार्यक्रम अपरान्ह्को १:३० देखि शुरु हुनेछ। सांगीतिक कार्यक्रममा छिमेकी राज्य नेपालका प्रतिष्ठित गायिका मेलिना राई, मिलन नेवार, भारतका ख्यातीप्राप्त गायक रितु रिबा, छिरिङ लिजोम भोटिया, जेत्सन डोना लामा, थुप्देन भुटिया, रेमन्ती राई लगायत अन्यले प्रस्तुती दिनेछन् भने सिक्किमका विभिन्न डान्स अकादमीका कलाकारहरूले भने सामुहिक नृत्य प्रस्तुत गर्ने आयोजक समितिले जानकारी गराएको छ।
फाइनलको निम्ति दुवै क्लब तयार रहेको आज आयोजित पत्रकार सम्मेलनमा क्लबका सदस्यहरूले जनाएका छन्। राज्यमा यस्तो उत्कृष्ट स्तरको फूटबल लीगको आयोजन गरेर साँच्चै सिक्किमको फूटबललाई उच्च स्तरमा पुऱ्याएकोमा दुवै क्लबका सदस्यहरूले फूटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडप्रति आभार व्यक्त गरेका छन्। फाइनलसम्म आइपुग्दा खेलाड़ीहरूको खेल साथै मनोबल धेरै बढ़ेर गएको पनि उनीहरूले आशय व्यक्त गरेका छन्। भावी दिनमा अझ सिक्किम प्रीमियर लीगले उच्च स्तरको प्रतियोगिता आयोजन गर्ने कुरामा दुवै टोलीका खेलाडीहरूले विश्वास व्यक्त गरेका छन्। भोलिको फाइनल खेलमा फ्यान्सहरूलाई प्रत्यक्ष रुपमा स्टेडियममा उपस्थित बनेर खेलाड़ीहरूको मनोबल बढाउने पनि क्लबका सदस्यहरूले आग्रह गरेका छन्।