मुख्यमन्त्री पीएस गोलेको बाहुलीबाट विभिन्न पुस्तकको विमोचन
गान्तोक: सिक्किम अकादमी अनि परी प्रकाशनको संयुक्त आयोजनमा आज राजधानीस्थित सम्मान भवनमा मुख्यमन्त्री पीएस गोले साथै उनकी धर्मपत्नी कृष्णा राई गोलेको बाहुलीबाट सातवटा पुस्तकको विमोचन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। साहित्य समारोहमा सिक्किम राज्यका विशिष्ट भाषा साहित्यका प्रतिभाहरू सँगसँगै मणिपुर, असम, दार्जीलिङ, कालेबुङ अनि सिलगड़ीका धेरै साहित्यकारहरूको उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले नेपाली भाषा साहित्यको उन्नतिमा सिक्किम राज्यको अहम् भूमिका रहेका बताउँदै भाषा साहित्यको विकास नै बौद्धिक विकास रहेको बताए। आगामी वर्षहरूमा यस्तो कार्यक्रम ठूला ठाउँहरूमा आयोजन गरेर धेरै साहित्यकारहरूको जमघट गर्नुपर्ने उनले सुझाउ दिए। वर्तमान सरकारले लेखकहरूलाई स्वतन्त्र बनेर लेख्ने विशाल परिवेश निर्माण गरेको पनि बताए। आजको कार्यक्रमको पहिलो खण्डलाई सिक्किम अकादमीले सञ्चालन गरेको थियो भने अकादमीले आफ्नो भवनको निर्माण गरिदिने, वार्षिक बजेटमा बढ़ोत्तरी अनि अकादमीमा काम गरिरहेका चारजना कर्मचारीलाई सरकारबाट सहयोगको अपील पनि गरेको थियो। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा अकादमीले राखेको सबै मागहरू पूरा गर्ने वचन पनि दिए। भवन निर्माणको लागि जग्गा हेर्ने पनि अकादमीलाई परामर्श दिए। दोस्रो खण्डको कार्यक्रमलाई परी प्रकाशनले सञ्चालन गरेको थियो। परी प्रकाशनका अध्यक्ष सीपी शर्माले परी प्रकाशनको गठन अनि यसमा मुख्यमन्त्रीको भूमिकाप्रति कृतज्ञता प्रकट गरे। कार्यक्रममा सातवटा पुस्तकको विमोचन गरियो भने सबै लेखकहरूलाई मुख्यमन्त्री गोलेले खदा लगाएर स्वागत जनाए। परी प्रकाशनको पहिलो प्रकाशित कथा सङ्ग्रह गन्तव्यको विमोचन पनि मुख्यमन्त्री गोले उनकी धर्मपत्नी तथा कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यसेवीहरूको हातबाट गरियो।