कोलकाता: पचास घण्टादेखि जारी कुर्मी आन्दोलन अझ तीव्र बन्दै गइरहेको छ। कुर्मी समुदायलाई अनुसूचित जनजातिअन्तर्गत ल्याउनुपर्ने, सरना धर्मलाई मान्यता दिनुपर्ने र कुर्माली भाषालाई संविधानको आठौं अनुसूचीमा सामेल गरिनुपर्ने मागहरूलाई लिएर राज्यको पश्चिम हिस्सामा लगातार आन्दोलन चलिरहेको छ। पश्चिम मेदिनीपुर-पुरुलिया-बांकुड़ामा अनिश्चितकालीन रेल सडक अवरोध चलिरहेको छ। उल्लेखनीय छ, पुरुलियामा आन्दोलनको आज तेस्रो दिन हो। कुर्मी समुदाय आफ्नो दाबीमा अडिग छन्। आन्दोलनका कारण पुरुलियाको आद्रा मण्डलमा शुक्रवार पनि ट्रेनहरूको आवागमन बाधित बन्यो। यात्रीहरूले निकै समस्या झेल्नु पऱ्यो। आद्रा मण्डलले भने, आद्रा पुरुलिया शाखाको ५८ ट्रेन अगावै रद्द गरिएका छन्। चार ट्रेनलाई डाइभर्ट गरिएको छ। यसबीच, कुर्मी समुदायले यदि उनीहरूको माग स्वीकृत भएन भने आइतबारदेखि पुरुलिया-रांची रेलवे र पुरुलिया-रांची राष्ट्रिय राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्। पश्चिम मेदिनीपुरको खेमाशुली छ नम्बर राष्ट्रिय राजमार्ग आदिवासी कुर्मी समाजको आन्दोलनका कारण बन्द छ। आन्दोलनकारीहरूले शुक्रवार बिहान सबभन्दा पहिला राष्ट्रिय राजमार्गमा मार्च गरे। त्यसपछि, खोमाशुली स्टेशनमा उनीहरूले विरोध कार्यक्रम शुरू गरे।