गान्तोक: राज्यका मुख्य सूचना आयुक्तको रूपमा वाई पी गुरुङले आज पद अनि गोपनीयताको शपथ ग्रहण गरे। राजभवनमा आयोजित कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले उनलाई शपथ दिलाए। यस शपथ ग्रहण समारोहमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी श्रीमती कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष अरुण कुमार उप्रेती, विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा, ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा, भवन तथा आवास विभागीय मन्त्री सञ्जीत खरेल, जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, विधायकगण, गान्तोक नगरनिगमका उपमेयर छिरिङ पाल्देन भोटिया, मुख्य सचिव भीबी पाठक, विभिन्न विभागका सचिवगण, अध्यक्षगण लगायत अन्यको उपस्थिति रहेको थियो।
जानकारी गराइन्छ, आज राज्यका मुख्य सूचना आयुक्तको पदभार ग्रहण गरेका वाईपी गुरुङले यसअघि राज्यको वन विभागमा सचिवको पदमा रहेर सेवा पुऱ्याइसकेका छन्।