दार्जिलिङ: सयदिने रोजगारको गरीब जनताको पैसा नरोकिदिने अपिल गर्दै जीटीएको सभासद सन्दीप छेत्रीले दार्जिलिङका सांसद राजु विष्टलाई पत्र लेखेका छन्।
सांसद राजु विष्टलाई सम्बोधन गर्दै जीटीए अन्तर्गत चुङथुङ-मेरीबोङ-तामसाङ समष्टिको सभासद सन्दीप छेत्रीले पत्र लेखेका छन्। उक्त पत्रमा सभासद छेत्रीले सांसद राजु विष्टलाई लेखेका छन् , ‘तपाईँले जसरी गर्वसाथ ‘सयदिने रोजगारको पैसा मैले नै रोकिदिएको हो’ भन्नुभयो, त्यतिकै गर्वसाथ त नोबल पुरस्कार प्राप्त गर्नेहरू पनि बोल्न सक्दैनन् होला। तपाईँ बाऊकै छोरा हुनुहुँदो रहेछ। हिन्दीमा हो भने यत्तिको त ‘धाँसु डाइलग’ हो। हामी त त्यसरी ‘धाँसु डाइलग’ बोल्न सक्दैनौँ। सायद क्षेत्र पनि सानो परेर होला। अँ, तपाईँको जानकारीको निम्ति बताइदिऊँ – मेरो नाम सन्दीप छेत्री हो। चुङथुङ-मेरीबोङ-तामसाङ समष्टि नाम त सुन्नुभएकै होला। यहाँबाट पनि मानसिहरूले ठूलो आशा र भरोसासँगै तपाईँलाई सांसद बनाउनका लागि मतदान गरेका थिए। हुन त तपाईँ सिङ्गो दार्जिलिङ क्षेत्रका सांसद साथै राष्ट्रिय स्तरका प्रवक्ता। सबै कुरा याद राख्नु सम्भव पनि त हुँदैन होला नि है ? म यही समष्टिको एकजना जनप्रतिनिधि हुँ। एउटा साधारण परिवारको सदस्य। धर्मले इसाई हुँ, यसकारण आज गुड फ्राइडेको दिन नै यो पत्र तपाईँलाई लेख्ने धृष्टता साँचेको हुँ। किनभने आज प्रभु येशुको बलिदानलाई याद मनाउने दिन हो। प्रभु येशुले त सारा संसारका मानिसहरूका निम्ति आफ्नो बलिदान दिएका थिए र हामी उनको बलिदानप्रति शोक मनाउँछौँ साथै उनको पवित्र उद्देश्य पूरा होस् भनी प्रार्थना गर्छौँ। तर तपाईँले त त्यसको ठीक विपरीत गरीब मानिसहरूले पाउँदै गरेको अलिअलि पैसा पनि पो रोकिदिनुभयो।’
सभासद सन्दीप छेत्रीले पत्रमा लेखेका छन् -, ‘तपाईँको सरकारले अदानीलाई हजारौँ करोड ऋण दिएर कम्पनी ल्याप्स भयो भन्दा हुन्छ तर गरीबहरूले पाउने पैसा चाहिँ दिनु हुँदैन है? भ्रष्टाचार भएको छ त भ्रष्टाचारीहरूलाई सजाय दिनुहोस् न। सयदिने रोजगारको पैसा रोकेर के पाउनु हुन्छ? तपाईँलाई थाहा छ? यो सयदिनेको पैसासित कति धेरै सपनाहरू बाँचेका हुन्छन्। कति धेरै आशाहरू सलबलाएका हुन्छन् र कति धेरै इच्छाहरू चलमलाएका हुन्छन्। के तपाईँलाई थाहा छ? तपाईँलाई केही थाहा छैन। किनभने तपाईँ जन्मिँदा नै तपाईँको बाउले तपाईँका लागि जीवनभरि सुनको थालमा भात खान सक्ने गरी कम्पनी खडा गरिदिइराखेको थियो। तर कमान-बस्तीका गाउँहरूमा मानिसहरू एकदिन राम्ररी बाँच्नलाई पनि हजार दिन मर्नुपर्ने स्थिति हुन्छ। आज खायो, भरै के खाऊँ, भरै खायो, भोलि के खाऊँ, भोलि खायो, पर्सि के खाऊँ-को जर्जर अवस्थासित बाँचेका जीवनहरू यहाँ लछेप्रै छन्। तपाईँले सयदिनेको पैसा रोकेर कहाँ भ्रष्टाचारीहरूलाई सजाय दिनुभयो र? तपाईँले त यिनीहरूको आशालाई मारिदिनुभयो त। ‘सयदिनेको पैसा पसेपछि छोरा-छोरीको स्कूल फिस चुक्ता गरिदिन्छु, एक सर्को फेरफारे लुगा किनिदिन्छु, नयाँ स्कुल ब्याग, छाता र चप्पल किनिदिन्छु, महाजनको ऋण तिरिदिन्छु’ भन्ने आशाहरूलाई। यिनै मानिसहरू तपाईँलाई सासंद बनाएर पठाउनका लागि मतदान गर्दा अलिकति पनि हिच्किचाएका थिएनन्। पालाको पैँचो तपाईँले पनि अलिकति नहिच्किच्याई यिनीहरूले पाउँदै गरेको पैसा नै रोकिदिनुभएको?’
चुङथुङ-मेरीबोङ-तामसाङ समष्टिको सभासद सन्दीप छेत्रीले अघि लेखेका छन् – ‘म त सानो क्षेत्रको मान्छे। मेरो संसार पनि सानै छ र सोच पनि सानै होला सायदै। तर ठूलो क्षेत्र, ठूलो पद र ठूलो संसार हुनेहरू यदि तपाईँजस्तै हुन्छन् भने म आफू सानो क्षेत्रको भएकोमा धेरै गर्व गर्छु। किनभने मैले मेरो समष्टि र समष्टिका मेरा मानिसहरूलाई ठूलो कुरा केही दिन नसके तापनि तपाईँले जस्तो रोक्ने काम पनि गरेको छुइनँ। यसैले म अति विनम्रतापूर्वक तपाईँसँग यति नै बिन्ती गर्छु कि गरीबहरूको पैसा यसरी रोकेर नराखिदिनुहोस्। गरिबहरूको सपनालाई यसरी नकुल्चिदिनुहोस्। कमसे कम आज गुड फ्राइडेको यस पावन अवसरमा प्रभु येशु हिँडेकै बाटो हिँड्न नसके तापनि गरीबहरूको पैसा छोडिदिएर केही त असल काम गर्नुहोस्। त्यति पनि गर्न सक्नु हुँदैन भने कमसे कम ‘सयदिनेको पैसा मैले रोकिदिएको’ भन्ने अहङ्कारले युक्त वाक्यलाई नै वापस लिनुहोस्। नभए तपाईँको नाम सुन्दै पनि मान्छेहरूले आफ्नै औँलामा थुक्नेछन् र तपाईँलाई सांसद बनाएर इतिहासमै सबैभन्दा ठूलो भूल गरिपठाएको स्वीकार गर्दै आफ्नै औँला काट्नेछन्। के तपाईँ यति ठूलो पापको भागीदार हुन चाहनुहुन्छ?’