यूएफा नेशन्स लीगः बेल्जियम, नीदरल्याण्ड्स र युक्रेनको जीत

IMG-20220609-WA0130.jpg

९ जूनः म्याचको शुरुमै गोल खाएपछि आधा दर्जन गोल छिराएर बेल्जियमले पोल्याण्डको चुनौतीलाई माटोमा मिलायो भने नीदरल्याण्ड पनि आफ्नो जीतको क्रम जारी राख्न सफल भयो। यूएफा नेशन्स लीग फूटबल प्रतियोगिताअन्तर्गत बुधवार राति खेलिएको ग्रुप डी-को म्याचमा बेल्जियमले पोल्याण्डलाई ६-१-ले पिट्यो। म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमको टीमले शुरुमै गोल खायो। स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले २८औं मिनटमा पोल्याण्डलाई बढ़त दिलाए तर बेल्जियमले पनि मध्यान्तरअघि गोल सुलायो। एक्सेल विट्सेलले 42औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि दिग्गज मीडफिल्डर केविन डी ब्रूनेले ५९औं मिनटमा बेल्जियमलाई २-१-को बढ़त दिलाए। त्यहाँदेखि बेल्जियमको टीमले पछि फर्किएर हेरेन अनि अझ चारवटा गोल थप्यो। लिएण्ड्रो ट्रोसार्डले ७३औं र ८०औं मिनटमा लगातार २ गोल गरे। त्यसपछि लिएण्डर डेण्डोंकरले ८३औं र लोइस ओपेण्डाले स्टपेज टाइमको तेस्रो मिनटमा अझ २ गोल थपेर बेल्जियमलाई ६-१-ले जीत दिलाए।

यसै ग्रुपको अन्य एउटा म्याचमा नीदरल्याण्ड्सले हालै विश्व कपको निम्ति क्वालीफाई गर्ने वेल्स विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यी दुई शक्तिशाली टीमबीच खेलिएको म्याचमा मध्यान्तरसम्म गोल हुन सकेन। त्यसपछि टेउन कूपमेनर्सले ५०औं मिनटमा डच टीमलाई बढ़त दिलाए अनि त्यो बढ़त लगभग अन्तसम्म कायम रहेको थियो तर रिश नोरिंगटन-डेविसले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरी वेल्सलाई बराबरीमा पुऱ्याए। म्याच बराबरीमा पुगेपछि नीदरल्याण्ड्सले अन्तिम क्षणमा निर्णायक बढ़त हासिल गऱ्यो। वोट वेगहर्स्टले स्टपेज टाइमको चौथो मिनटमा गोल गरी डच टीमलाई रोमाञ्चक जीत दिलाए। यस ग्रुपमा अहिले नीदरल्याण्ड्स दुवै म्याच जितेर ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि बेल्जियम र पोल्याण्डसँग ३-३ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा बेल्जियम दोस्रो स्थानमा रहेको छ। वेल्सले चाहिँ अहिलेसम्म खाता खोलेको छैन।

यसरी नै वेल्स विरुद्ध पराजित भएर विश्व कपको टिकट हासिल गर्नदेखि चुक्ने युक्रेनले ग्रुप ई-को म्याचमा आयरल्याण्ड विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचको एकमात्र गोल भिक्टोर शिहानकोवले ४७औं मिनटमा छिराए। यसै ग्रुपको अन्य एउटा म्याचमा स्कटल्याण्डले अर्मेनियालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमले म्याचको दुवै गोल मध्यान्तर अघि हासिल गऱ्यो। यसमा एन्थोनी राल्स्टनले २८औं र स्कट म्याकेन्नाले ४०औं मिनटमा गोल गरे। ग्रुपमा शीर्ष तीनवटा टीमसँग ३-३ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा स्कटल्याण्ड पहिलो, युक्रेन दोस्रो र अर्मेनिया तेस्रो स्थानमा रहेको छ। आयरल्याण्डले अहिलेसम्म खाता खोलेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement