कुचबिहार: प्रेम सम्बन्धमा संलग्न एक युवतीको अभिभावकले त्यो सम्बन्धलाई स्वीकार गरिरहेको थिएन। यसैका कारण प्रेमीले युवतीका आमा-बुवाको हत्या गरेका छन्। प्रेमिका र उनकी बहिनी पनि घाइते भए । पछि प्रेमिकाकी बहिनीको पनि उपचारको क्रममा मृत्यु भयो। घटना शीतलकुचीको पश्चिमपाडा क्षेत्रको हो । मृतक नीलिमा बर्मन शितलकुची ग्राम पञ्चायतकी तृणमूल सदस्या हुन् । उनका पति विमल चन्द्र बर्मन तृणमूलको एससीएसटी, ओबीसी सेलका शीतलकुची ब्लक अध्यक्ष हुन्। शुक्रबार बिहान लगभग ४ः३० बजे भएको यो घटनापछि क्षेत्रमा तनावको वातावरण बनेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुलिसले बर्मन दम्पतीकी जेठी छोरी इति बर्मनको छिमेकी गाउँका एक युवक विभूति रायसँग प्रेम सम्बन्ध रहेको थाहा पाए । आमा-बुवा दुवैले यो सम्बन्धको कडा विरोध गरिरहेका थिए। यसैको कारण परिवारमा कलहको वातावरण सृजना भएको थियो।
आरोपित युवकले राति आफ्नी प्रेमिकाको घरमा आएर चक्कु प्रहार गरेको आरोप छ । विमल बर्मन र उनकी श्रीमती निलिमादेवीलाई धेरै पटक निर्ममतापूर्वक चक्कु प्रहार गरिएको थियो। बचाउन खोज्दा दुई छोरी इति बर्मन र रुनु बर्मन पनि घाइते भएका थिए। अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा रुनु बर्मनको मृत्यु भएको छ। स्थानियवासीले आरोपित युवकलाई समातेर पुलिस समक्ष जिम्मा लगाएका छन्। क्षेत्रमा तनावको वातावरण छाएको छ । पुलिस स्रोतका अनुसार, पुलिसले यसअघि नै तीनजनालाई पक्राउ गरिसकेको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।