आईपीएल २०२३कलकत्ता नाइट राइडर्स ८१ रनले विजयी

IMG-20230407-WA0006.jpg

६ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ को म्याचमा बिहीवार कलकत्ता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेंगलोरलाई ८१ रनले पराजित गऱ्यो। कलकत्ताको ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले खराब शुरुवातपछि शार्दुल ठाकुरको असाधारण प्रदर्शनको सहायताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनायो। शीर्ष क्रममा अफगानिस्तानका रहमानुल्लाह गुरबाजले ४४ बलमा ५७ रन (६ वटा चौका र ३ वटा छक्का) बनाएर पनि केकेआर एक समय ८९ रनमा ५ विकेट गुमाएर समस्यामा परेको थियो। यस्तो समयमा सातौं नम्बरमा ओर्लिएर शार्दुल ठाकुरले २९ बलमा ९ वटा चौका र ३ वटा छक्काको साथ ६८ रन बनाए। उनले रिंकु सिंहबाट असल साथ पाए, जसले ३३ बलमा ३ वटा छक्का र २ वटा चौकाको साथ ४६ रन बनाए।

यसरी ठाकुर र रिंकुबीच छैटौं विकेटको निम्ति भएको १०३ रनको पार्टनरशीपको सहायताले केकेआर २०४ रनसम्म पुग्न सफल भयो। आरसीबी-का बलरहरूमा डेविड विली र कर्ण शर्माले २-२ विकेट लिए। जवाफमा २०५ रनको लक्ष्यलाई पछ्याउँदै आरसीबी-को टीम १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भयो। कप्तान फाफ डू प्लेसिसले २३, विराट कोहलीले २१ र डेविड विलीले अविजित २० रन बनाए। केकेआर-का बलरहरूमा वरुण चक्रवर्तीले सर्वाधिक ४ विकेट लिए। यसबाहेक इम्प्याक्ट प्लेयरको रूपमा मैदानमा ओर्लिने सुयश शर्माले ३ अनि सुनिल नारेनले २ विकेट लिए। शार्दुललाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement