१८ जुलाईमा हुनेछ राष्ट्रपतिको चुनाव

Rashtrapati-Bhawan

नयाँ दिल्ली: राष्ट्रपतिको चुनावको लागि चुनाव आयोगले घोषणा गरेको छ। देशको नयाँ राष्ट्रपतिको चुनाव १८ जुलाईमा हुनेछ। जुलाई २१ मा मतगणना हुनेछ। दिल्लीस्थित विज्ञान भवनमा सञ्चारकर्मीसँग जानकारी दिँदै चुनाव आयोगले मिति घोषणा गरेको हो। यो सूचना १५ जूनदेखि लागू हुने र उम्मेदवारी दर्ताको मिति २९ जूनसम्म रहने आयोगले जनाएको छ। यो ३० जूनसम्म छानबिन हुनेछ र उम्मेदवारहरूले २ जुलाईसम्ममा आफ्नो उम्मेदवारी फिर्ता गर्न सक्नेछन्। वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिँदैछ र नयाँ राष्ट्रपतिले २५ जुलाईमा शपथ लिनेछन्। यस्तो अवस्थामा २४ जुलाईभित्र नयाँ राष्ट्रपतिको चुनाव गरिसक्नुपर्छ। चुनाव आयोगले मिति घोषणा गर्दा यसतर्फ ध्यान दिएको छ। २०१७ मा राष्ट्रपतिको चुनाव १७ जुलाईमा भएको थियो, जसमा रामनाथ कोविन्द राष्ट्रपति निर्वाचित भएका थिए। एनडीएका उम्मेदवार रामनाथ कोविन्दले करिब ६५ प्रतिशत मत पाएका थिए। यसपटक पनि एनडीएको उम्मदेवारले सजिलै जित्ने अवस्थामा छl तर, अहिलेसम्म सरकार वा प्रतिपक्षबाट उम्मेदवार घोषणा गरिएको छैन। मुख्य चुनाव आयुक्त राजीव कुमारले मतदान गर्न १,२,३ लेखेर छनोट व्यक्त गर्नुपर्ने बताए। मतदान गर्ने सांसद र विधायकले पहिलो रोजाई दिएनन् भने मतदान रद्द भएको मानिनेछ। राष्ट्रपतिको चुनावमा जम्मा ४८०९ मत खसालिने छ। कुल मतको मूल्य १० लाख ९८ हजार ८०३ हुनेछ। यस चुनावमा लोकसभा र राज्यसभाका सांसदहरूले मतदान गर्नेछन्। यसबाहेक व्यवस्थापिका सभाका सदस्यले पनि मतदान गर्न पाउने छन्। लोकसभा र राज्यसभाका ७७६ सांसद र ४१२० विधायक मतदानमा सहभागी हुनेछन्।

भारतमा राष्ट्रपति चुनाव इलेक्टोरल कलेज सिस्टम मार्फत चयन गरिन्छ, जसमा सांसद र विधायकहरूले मतदान गर्छन्। यो सम्पूर्ण प्रक्रिया चुनाव आयोगको निगरानीमा हुन्छ। अब प्रश्न उठ्छ इलेक्टोरल कलेज भनेको के हो? यसमा माथिल्लो र तल्लो सदनका निर्वाचित सदस्यहरू हुन्छन्। साथै, यसले राज्य र केन्द्र शासित प्रदेशहरूको विधान सभाका निर्वाचित सदस्यहरू समावेश गर्दछ। तथ्याङ्कका हिसाबले यस चुनावमा ४८९६ मतदाता रहेका छन्। यसमा ५४३ लोकसभा र २३३ राज्यसभा सांसदहरू, सबै राज्यहरूबाट ४१२० विधायकहरू सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement