सिलगढी: सालबारीस्थित बुकआन्ट-ले आउँदो आइतबार वर्तमानमा निक्कै चर्चित ‘गोर्खाल्यान्ड डाइरिज’-माथि एउटा विमर्श कार्यक्रम आयोजित गर्ने भएको छ। सत्यदीप एस छेत्रीद्वारा लिखित सन् १९८०-को दशकमा चलेको गोर्खाल्यान्ड आन्दोलनमाथि आधारित यो पुस्तक अङ्ग्रेजी भाषामा आन्दोलनसम्बन्धी पहिलो कृति मानिएको छ। पुस्तकको दोस्रो संस्करण अगावै बजारमा आइसकेको छ। हालै आरम्भ गरिएको पुस्तक प्रकाशन एवं वितरण संस्था बुकआन्ट-ले अङ्ग्रेजी लेखकहरूमाझ खुल्ला समझदारी, साझेदारी र अन्तर्क्रियाको माहौल पैदा गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ।
उक्त दिन किताब-चर्चामा कालेबुङका वरिष्ठ समालोचक-बुद्धिजीवी-राजनेता डा. हर्कबहादुर छेत्री, सिलगगढीका वरिष्ठ इतिहासकार-चिकित्सक डा. सोनाम बी वाङ्ग्लेय र लेखक स्वयं सामेल रहनेछन् भने चर्चित युवा कवि-फोटोग्राफर विनोद प्रधानले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्। लेखले चर्चापछि दर्शक-पाठकसँग सोझो संवाद गर्नेछन्। रसायनवशास्त्रमा पीएचडी डा. सत्यदीप छेत्री सिलगढीमा जन्मिएका हुन् भने उनले स्कूले शिक्षा डन बस्को स्कूलमा लिएका हुन्। उनले उत्तरबङ्ग विश्वविद्यालयबाट उच्च शिक्षा ग्रहण गरेपछि गत २२ वर्षदेखि गान्तोकको एनबीबी सरकारी महाविद्यालयमा एसोसिएट प्रोफेसरको ओहोदामा रही पढ़ाइरहेका छन्। सन् १९९-मा युजीसी-सीएसआईआर (नेट) फेलोशीपले सम्मानित डा. छेत्रीले आरएन खस्तगीर मेमोरियल अवार्ड पनि प्राप्त गरेका छन्। उनी इन्टरनेसनल माउन्टेन इनिसिएटिभ-का संस्थापक सदस्य पनि हुन्। उनले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेको पुस्तक ‘कालोभारी’ सन् २०२१-मा प्रकाशित भएको छ।
समस्त अङ्ग्रेजी लेखकहरूलाई संयुक्त मञ्चमा भेला गर्ने प्रयासतिर इङ्गित गर्दै बुक-आन्ट-का निर्देशक सूरज गुरुङले कार्यक्रमको लक्ष्यबारे प्रस्ट्याउँदै भने, “हामीसँग दार्जीलिङ-सिक्किम पाहाड़, सिलगढीसमतल एवं डुवर्सलगायत प्रशस्त अङ्ग्रेजीमा लेख्ने हाम्रै लेखकहरू जन्मिसकेका भए पनि उनीहरूमाझ विचार र कृति आदानप्रदानको साँघुको अभाव रहेको महसुस गरिएको छ। बुकआन्टले यी अङ्ग्रेजी सर्जकहरूमाझ आपसी विकासका लागि एउटा स्वस्थ बहस, अन्तर्क्रियाको मञ्च निर्माण गर्न सहजकर्ताको भूमिका लिन खोजिरहेको हो। यो विमर्श कार्यक्रम त्यही दिशाको एक कदम हो।” कार्यक्रमकै दिन युवा शोधकर्ता रोयल खातीद्वारा लिखित उनको पहिलो पुस्तक ‘मिस्टी माउन्टेन : इङ्ग्लिस अथर्स फ्रम दार्जीलिङ’ पनि विमोचित हुनेछ। एसिस्टेन्ट प्रोफेसर अनिरूद्र गुरुङले जातीय भावनाको गीत प्रस्तुत गर्ने भएको उक्त कार्यक्रम सालबारीको प्रज्ञा भवनको तेस्रो तल्लास्थित रङ्गमञ्चमा आउँदो आइतवार १२ जुन २०२२-को दिन अपराह्न १:३० बजेदेखि ३:३० सम्म आयोजित हुने भएको छ।









