रम्फू: राज्य पुलिसले ड्रग्ससँगै दुई जनालाई सिलगड़ीबाट ड्रग्स लिएर आइरहेको समयमा रम्फूमा पक्राउ गरेको छ। पुलिस सूत्रमार्फत प्राप्त जानकारी अनुसार, पक्रा पर्नेहरू पाकिम जिल्लाअन्तर्गत असमलिङ्से निवासी ३५ वर्षीय शरण कुमार विश्वकर्मा अनि २८ वर्षीया सालु राईको रूपमा चिह्नित गरिएको छ। उनीहरूलाई बुधवार राति 8 बजीतिर पक्राउ गरिएको थाहा लागेको छ। पुलिसले रम्फूस्थित अटल सेतूबाट यी दुईजनाको खेदो गर्दै मामरिङ सड़क वाई वाई कारखानामाथि उनीहरूलाई रोकेर खोजी गर्दा उनीहरूबाट व्यवसायिक मात्रामा ८४३ स्ट्रिप्समा ६ हजार ७४४ निलो रंगको क्याप्सुल जफ्त गरेको छ। उनीहरू निजी वाहन एसके ०१ पी ४८६४ कारमा सिलगड़ीबाट सिक्किमतर्फ यात्रा गरिरहेका थिए। उनीहरूविरुद्ध साडा संशोधित ऐन २०१७ अन्तर्गत मामिला दर्ता गरिएको छ भने पुलिसले यस मामिलाबारे थप जाँच गरिरहेको छ।