सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। जसमा,आमा-बाबु र छोरी सामेल छन्। पक्राउ परेकाहरू मतिगढा थाना अन्तर्गत विश्वास कोलोनी निवासी एमडी हकिमुद्दीन (५० ), खतिजा नेशा उर्फ कमिजा (४५ ) र नजारा बेगम (२० ) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, नजारा बेगमको डेढ वर्षकी छोरी छिन्, जसलाई मोहरा बनाएर तिनीहरू ब्राउन सुगरको तस्करी गर्ने गर्थे । एसओजी र मतिगढा थाना पुलिसले मतिगढा थाना अन्तर्गत ४७ नम्बर वार्डको चाँदमुनि हस्पिटल लाइन नजिक संयुक्त अभियान चलाएर आमा-छोरीको ब्यागबाट ब्राउन सुगर उद्धार गरेको बताइएको छ। चोपड़ाबाट ल्याइएको उक्त ब्राउन सुगर सिलगढीमा तस्करी गर्ने तिनीहरूको योजना रहेको थियो। स्मरण रहोस्, एमडी हकिमुद्दीन र खतेजा नेशालाई मादक तस्करी गरेको आरोपमा पहिले पनि धेरैपल्ट पक्राउ गरिसकेको थियो। पक्राउ परेका तीनैजनालाई भोलि शुक्रबार सिलगढी अदालतमा पेश गरिनेछ।