गान्तोक: हिजो दिउँसो मध्याह्नमा जवाहरलाल नेहरू सड़क १५ माइल नजिक आएको हिमस्खलनमा निखोज भएका पर्यटकहरूको खोजी अनि उद्धार कार्य आज बिहान ८ बजी समाप्त भयो। यस अभियानमा राष्ट्रिय आपदा प्रबन्धन बल, राज्य आपदा प्रबन्धन बल, सेना, सीमा सड़क संगठन, डीडीएमए, सिक्किम पुलिस, आईटीबीपी, पर्यटन हितधारकहरू, चालकहरू अनि स्थानीय मानिसहरूको सहभागिता रहेको थियो।
खोजी अनि उद्धार कार्यबारे जानकारी लिन राज्यका पर्यटन मन्त्री बीएस पन्त यस घटनास्थलमा आज बिहान पुगेका थिए। उनीसँग पर्यटन विभागीय सचिव प्रकाश छेत्री लगायत अन्य अधिकारीहरू साथमा रहेका थिए। गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे अनि उनको टोली, राज्य सरकारका अन्य अधिकारीहरू, केन्द्र सरकारका एजेन्सीहरूबाट यस कार्यमा समन्वय बनाइराख्न धटनास्थलमा तैनाथ रहेका थिए।
जानकारी गराइन्छ, हिजो दिउँसो आएको यस विनाशकारी हिमस्खलनमा ७ पर्यटकले ज्यान गुमाएका थिए।

जिल्लापालद्वारा प्राप्त जानकारी अनुसार, ज्यान गुमाउने पर्यटकहरूमा चितवन नेपाल निवासी शिवप्रसाद लामिछाने, २२ वर्षीया आशिका दाहाल, रुपन्देही, नेपाल निवासी २९ वर्षीया मुना शाह श्रेष्ठ, उत्तर प्रदेशका ३२ वर्षीय बल सिंह अनि ६ वर्षीया रेबया सिंह, पश्चिम बंगालका २८ वर्षीय सौरभ रोय चौधरी अनि ३८ वर्षीय प्रितम मैती सामेल रहेका छन्। हाल एसटीएनएम अस्पतालमा चारजना घाइतेहरू उपचाराधीन छन् भने अन्य सामान्य घाइतेहरूलाई प्राथमिक उपचारपछि छुट्टी दिइयो।