सोनादा: रङ्गबुल-धोत्रे-रङ्गमुक समष्टिबाट स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा उठेका राजेश चौहान अहिले लगातार रुपमा घर दैलो कार्यक्रममा व्यस्त छन्। उनले यस क्षेत्रमा व्याप्त हरेक समस्याहरुलाई नजिकबाट नियाल्न सबै क्षेत्रहरुमा पुगिरहेका छन्। उनका पिता स्व. कुमार चौहानका असल मित्र पूर्व राज्यसभाका सांसद तथा भाषा मान्यताका सङ्ग्रामी आरबी राईलाई उनकै निवास स्थान चन्द्रमान धुरामा गएर भेट गरेका छन्। राजनैतिक रुपमा नभएर उनले आर.बी. राईबाट आशिर्वाद लिन पुगे। पूर्व सांसद आर.बी. राई यस क्षेत्रका एक मतदाता पनि हुन्। राजेश चौहान घर घरमा घुम्दै सबै समस्याहरुको अवलोकन गरिरहेका छन्। विगतका व्यवस्थाहरुले लथालिङ्ग पारेर छोडेको यस क्षेत्रलाई ब्यवस्थित बनाउनु नै उनको मूल उद्देश्य रहेको बताएका छन्। यस क्षेत्रका अधिकांश मानिसहरुले पनि उनीबाट सकारात्मक अपेक्षा राखेका छन्। यस क्षेत्रमा रोजगारको व्यापक सम्भावनाहरु भए पनि सही नेतृत्वको कमीले यसलाई कार्यान्वयनमा उतार्न सकिएको छैन भन्ने जन गुनासो रहेको छ। यी तमाम विषयहरुलाई सम्बन्धित विभाग समक्ष पुर्याएर पहल गरिने कुरा चौहानले बताएका छन्। उनको विगतका कार्यहरु हेर्दा निश्चय नै केही गर्छन् भन्ने विश्वास रहेको कुरा कतिपय मानिसहरु बताउँछन्। तथापि उनले के कति विकास गर्ने हुन्, यहाँका सम्याहरुलाई कसरी समाधान गर्ने हुन् त्यो भविष्यले बताउला तर अहिले उनको कार्यशैली, उनको काम गर्ने उर्जा देखेर यहाँका मानिसहरुमा केही आशा पलाएको कुरा प्रत्यक्ष परोक्ष रुपमा देखिएको छ।








