कुचबिहार: राज्यपाल सीभी आनन्द बोस उत्तर बंगाल कृषि विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी भए। प्रशासन स्रोतका अनुसार, राज्यपाल बुधबार बिहान चार्टर्ड विमानबाट हसिमारा पुगेका हुन्। त्यसपछि उनी त्यहाँबाट सडक मार्गबाट विश्वविद्यालय पुगेका थिए। राज्यपाल केही दिनअघि दार्जिलिङ आएका थिए। तर,रिसड़ामा भएको अशान्तिका कारण उनी कलकत्ता फर्किएका थिए। मंगलबार दिनभर विश्वविद्यालय परिसरमा राज्यपाल कार्यक्रममा सहभागी हुनसक्छन या सक्दैनन भन्ने चर्चा चलिरहे पनि राज्यपाल समयमै कुचबिहार आएर कार्यक्रममा सहभागी भए। यसबाट सबै विद्यार्थीहरू र विश्वविद्यालय प्रशासन पनि निकै खुसी छन। उक्त कार्यक्रममा चार वर्षका करिब ७५० विद्यार्थीहरू सहभागी थिए। ३१ जनालाई स्वर्ण पदक र ४ जनालाई पुरस्कृत गरिएको बताइएको छ। समारोहमा राज्यपाल बाहेक उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, कृषि मन्त्री शोवनदेव चटर्जी र अन्य उपस्थित थिए।