जलपाइगढीमा विभिन्न मागलाई लिएर वाममोर्चाको विरोध कार्यक्रम

83b3c6f2-b7ad-46d6-8e07-d910e2157dc8

जलपाइगढी: भ्रष्टाचार विरुद्ध उचित कदम चाल्नुपर्ने, आधार प्यान कार्ड लिङ्कको लागि १००० रुपियाँ जरिवाना फिर्ता लिनुपर्ने, आलुको अनुदान मूल्य प्रति किलो १० रुपियाँ, वास्तविक किसानहरूलाई आलु संरक्षणको ग्यारेन्टी, कृषि ऋण माफी, राहुल गान्धीलाई संसदबाट बर्खास्त गरेकोमा विरोध, जलपाइगढीको दोहोरो आत्महत्याको उचित न्यायिक छानबिन आदिको माग गर्दै मंगलबार जिल्ला वाममोर्चाको आह्वानमा जलपाइगढी समाजपाडा चौकमा विरोध कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सीपीआईएम पार्टीका नेता विपुल सन्यालले गरेका थिए। बैठकमा आरएसपी पार्टीका प्रकाश राय, सीपीआईएमका मजदुर नेता पियुष मिश्रा, फरवर्ड ब्लकका प्रदेश अध्यक्ष गोविन्द राय, भाकपाका जिल्ला सचिव अशोक सेनगुप्ता, वाम मोर्चाका जिल्ला संयोजक सलिल आचार्यलगायत नेताहरूले सम्बोधन गरेका थिए।
नेताहरूले भाजपा सरकार आएदेखि मतदाताहरूलाई कहिले मतदाता परिचय पत्रलाई आधार कार्डसँग, कहिले आधार कार्डलाई रासन कार्डसँग, अहिले आधार कार्डलाई प्यान कार्डसँग जोड्न लगाएर हैरान पारेको बताए। तर, आवश्यक दैनिक उपभोग्य सामानको मूल्य भने दिनहुँ बढिरहेको उनीहरूले बताए। नेताहरुले भने, ऋणका कारण देशभरका किसान आत्महत्याको बाटो रोज्न बाध्य भएका छन्। यसतर्फ, देशको सरकारको कुनै भिजन छैन। राज्यमा भ्रष्ट सरकार चलिरहेको छ। केन्द्र र प्रदेशका सत्तारुढ दलहरूले देश र प्रदेशमा विभाजनको राजनीति जारी राखी प्रतिस्पर्धात्मक साम्प्रदायिकताको वातावरण सृजना गरी श्रमजीवी गरिब जनताको एकता भत्काएर सत्तामा बस्न खोजिरहेका छन्। त्यसैले आज श्रमजीवी जनतालाई एकजुट गरेर वामपन्थी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता छ, उनीहरूले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement