५ अप्रेलः गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले आईपीएल २०२३-मा मंगलवार राति दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी लगातार दोस्रो जीत दर्ता गऱ्यो। म्याचमा गुजरातको निम्ति बी साई सुदर्शनले सर्वाधिक अविजित ६२ रन बनाए। म्याच जितेपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले सुदर्शनको भरपूर प्रशंसा गर्दै उनले भविष्यमा फ्रेञ्चाइजीको निम्ति मात्र नभएर देशको निम्ति पनि असल प्रदर्शन गर्ने बताए। पाण्ड्याले भने, साई सुदर्शनले असाधारण ब्याटिंग गरिरहेका छन्। हामीले सपोर्ट स्टाफहरूलाई पनि श्रेय दिनु पर्छ। उनले गत १५ दिनमा उनले जति पनि ब्याटिंग गरे, आज तपाईंहरू त्यसैको परिणाम देख्नु हुँदैछ। यो सब उनको कठोर मेहनतको फल हो। साँचो कुरा के हो भने उनले आउँदो दुई सालमा फ्रेञ्चाइजी क्रिकेटको साथमा देशको निम्ति पनि केही असल गर्न सक्छन्।
गुजरातका बलरहरूले शुरुवाती ओभरहरूमा तेजीको साथ रन खर्च गरेको विषयमा पाण्ड्याले भने, शुरुवातमा यो अचम्भको थियो। के भइरहेको छ भन्ने हामीलाई सटीक तरिकाले थाहा थिएन तर केही त भइरहेको थियो। हामीले पावरप्ले मा १५-२० रन अतिरिक्त खर्च गऱ्यौं। म आफ्नो सहज प्रवृत्तिको साथ जान्छु अनि म आफूलाई समर्थन गर्न मन पराउँछु। हामी खेलाड़ीहरूलाई मैदानमा ओर्लिएर आनन्द लिनु भन्छौं। यसले तपाईंलाई सही निर्णय लिनमा सहायता पुऱ्याउँछ। एकार्कालाई साथ दिनु जरूरी छ। उल्लेखनीय छ, आईपीएलको १६औं सीजनमा गुजरात टाइटन्सको विपरीत दिल्ली क्यापिटल्सको चाहिँ यो लगातार दोस्रो हार हो।