सिङताम: सिङतामस्थित नगरपालिकाको प्रेक्षागृहमा भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको आयोजनामा पुस्तक विमोचन एवं सम्मान कार्यक्रम समारोह भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम राज्य विधानसभा अध्यक्ष अरुण उप्रेतीको मुख्य आतिथ्य एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। विमोचन समारोहमा विशेष गरेर नेपाली साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं धेरै हस्तलिखित पुस्तकहरूका रचयिता तथा वरिष्ठ साहित्यकार राज के. श्रेष्ठद्वारा लिखित कप्तान रामसिंह ठकुरी (राष्ट्रिय धुन जन-गण-मन अधिनायकका सङ्गीतकार), कप्तान गञ्जु लामा-वरिष्ठ रङ्गकर्मी एवं साहित्यकार चुनिलाल घिमिरे, स्वतन्त्र सेनानी दलबहादुर गिरी-वरिष्ठ पत्रकार जीवन कटुवाल, ढुङ्गे फलैँचा, दुबो र बर-पीपल-वरिष्ठ सिनेकर्मी विक्रम गौतम, जुनकिरी-(बाल कविता सङ्ग्रह) युवाकवि एवं गीतकार ललित लोहार, सङ्कल्प-(कविता सं.) कृपेश सिंह, कहिले उड्छ (गीति एल्बम) ममता लामा, निफन्न नसकेका सम्झनाहरू-वरिष्ठ नाट्यकर्मी मेनुका प्रधानका जम्मा ७ वटा कृतिहरू लोकलाई समर्पित गरियो।
भव्य कार्यक्रमबीच नेपाली भाषा र जातिका विभिन्न क्षेत्रमा अतुलनीय सेवा दिनेहरू राज. के. श्रेष्ठ, सूर्यवीर तुलाधर, एनभीस हब सिक्किम, डा. गोपाल प्रधान एवं ममता लामालाई अभिनन्दन गरियो। कार्यक्रमलाई अध्यक्ष सीपी शर्माले एक्लै एक्लै हिँड्दा कहिल्यै नजितिने अनि संयुक्त रूपमा कदम बढाउँदा जातिको जीत हुने सन्देश दिँदै हामी सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने आह्वान गरे। कार्यक्रमका प्रमुख अतिथि विधानसभा अध्यक्ष अरुण उप्रेतीले पनि समारोहलाई सम्बोधन गर्दै साहित्य समाज विकासका निम्ति एक बलियो खाँबो भएको उदाहरण दिँदै आफ्नो तथा सरकारको पक्षबाट पनि साहित्यकार, लेखकहरूलाई कुनै असुविधा पर्न गए आफूहरू उनीहरूका साथमा रहेको कुरा स्पष्ट रूपमा राखे।