गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक आकस्मिक समन्वय बैठक आज राजधानीको मनन भवनमा बस्यो। पार्टीका कार्यवाहक अध्यक्ष एवं मन्त्री कुङ्गा निमा लेप्चाको सभाध्यक्षतामा बसेको बैठकमा वर्तमानमा सिक्किममा चलिरहेको विशेष मुद्दामाथि व्यापक रूपमा चर्चा गरियो। उक्त जानकारी एसकेएम उपाध्यक्ष प्रभारी, प्रचार-प्रसार बिरेन्द्र तामलिङले प्रेस विज्ञप्तिमा दिएका छन्। लोकसभामा भर्खरै पारित विशेष वित्त विधेयकलाई लिएर अहिले सिक्किममा विभिन्न राजनीतिक पार्टीहरूले हतियार बनाएर जनतामा अफवाह फैलाउने काम गरिरहेको पार्टीका प्रवक्ता जेकब खालिङले आफ्नो सम्बोधनमा बताए। सिक्किम र सिक्किमेहरूको हित र सुरक्षाको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टी मात्र विश्वासिलो रहेको बताउँदै विभिन्न विपक्षी पार्टीका नेताहरूले सिक्किमको रक्षा कवच धारा ३७१ एफ उड़ेको भन्दै जनतालाई दिग्भ्रमित पारिरहेको जनाए।
उनले पारित वित्त विधेयकले धारा ३७१ एफको गरिमालाई कुनै प्रकारको असर नगर्ने बताए। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले आज नै केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसँग भेट गरी यस सम्बन्धमा कुराकानी गरेको उनले जानकारी गराए। मुख्यमन्त्रीले यो वित्त बीललाई संसोधन गरिदिने माग राख्नेको पनि खालिङले बताए। यसमाथि प्रतिक्रिया दिँदै केन्द्रिय मन्त्री सीतारमणले वित्त विधेयक संशोधन सर्वोच्च न्यायालयको आदेश अनुसार केवल आयकरलाई लिएर पारित गरिएको जसले सिक्किमको परिभाषालाई छुँदै नछुने आश्वासन दिएको बताए। खालिङले सिक्किममा अहिले गैर राजनीतिक संस्थालाई माध्यम बनाएर विपक्षी पार्टीहरूले राजनीति गरिरहेको आरोप लगाए। अर्काको काँधमा बन्दुक राखेर पड्काउने विभिन्न विपक्षी पार्टीहरू गैर राजनीतिक संस्थालाई सिँड़ी बनाएर सत्ताको चौकीमा पुग्ने सपना देखिरहेको अनि अफवाहहरू फैलाएर जनतालाई गुमराह गरिरहेको बताए। यस्ता छद्मभेषी नेता र राजनीतिज्ञहरूबाट जनता सचेत अनि सतर्क रहन उनले आह्वान गरे।
यसरी नै पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले राजनीतिक रोटी सेक्ने र फेरि सत्तामा पुग्ने सपना साँचेका नेताहरूले ३७१ एफ उड़ायो भनेर जनतालाई त्रसित बनाइरहेका छन्, जुन कुरालाई कसैले विश्वास नगर्ने आह्वान गरे। तृणमूल स्तरका जनतालाई सत्य कुरा बताउन सम्पूर्ण कार्यकर्तालाई उनले अपील पनि गरे।पार्टीका प्रवक्ता सीपी शर्माले सम्माननीय मुख्यमन्त्री पीएस गोलेको केन्द्रसँगको उत्कृष्ट सम्बन्ध भएको कारण वित्त बीलको संशोधन अवश्य हुने आशा व्यक्त गरे। विपक्षीहरूले हुँदै नभएको कुरा निकालेर जनतालाई भ्रमित गर्ने काम गरिरहेको बताउँदै पार्टीका तृणमूल स्तरका कार्यकर्ताले सत्य र वास्तविक कुरा जनतामा पुऱ्याउन आवश्यक रहेको जनाए। बैठकलाई सभाध्यक्ष एवं पार्टीका कार्यवाहक अध्यक्ष लेप्चाले पनि सम्बोधन गरेका थिए। आजको आकस्मिक बैठकमा मुख्य समन्वयक सोनाम लामा, पार्टीको वरिष्ठ उपाध्यक्ष गण, मन्त्रीगण, विधायकगण, अध्यक्ष तथा सल्लाहकारगण, छवटै जिल्लाका पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।