काठमाडौंः राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि राष्ट्रिय सहकारी महासम्मेलन आयोजना हुने भएको छ। सम्मेलन २३ चैतदेखि तीन दिनसम्म चल्ने भएको छ। काठमाडौंमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, ब्याङ्कर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करीब १ हजार जना सहभागी हुने आयोजक सहकारी महासंघले जनाएको छ।
महासंघले महासम्मेलनको तयारी पुरा भइसकेको जानकारी दिएको छ। महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धि, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने महासंघका अध्यक्ष मिनराज कँडेलले जानकारी दिए। महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने उनले बताए। दक्षिण एशियाका अन्य देशहरू मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको कँडेलले बताए। महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौंमा हुने कँडेलले बताए।