दार्जिलिङ पहाडका एक ऐतिहासिक पुरुष, राजनेता,गोर्खा जातीय विभूति दावा लामाको देहान्त अपूरणीय जातीय क्षति-क्रामाकपा

CollageMaker_202344204626607.jpg

दार्जिलिङ: आफ्ना उमेरका एक शतक (सय वर्ष) हुनै लागेका दार्जिलिङ पहाडका एक विरल, एक क्रान्तिकारी, ऐतिहासिक पुरुष, राजनेता एंव क्रामाकपा केन्द्रीय सल्लाहकार परिषदका अन्यतम सदस्य, पश्चिम बंगाल वामपन्थी सरकारका पूर्व मन्त्री,पहाड -मधेस दुवै क्षेत्रका शोषित श्रमिक-किसान जनताका श्रध्दाभाजन चुङथुङ चियाबारी निवासी वयोवृद्ध दावा लामाको निधनले पहाड़ लगायत पहाड़को राजनीतिमा ठूलो क्षति भनी क्रामाकपाले बताएको छ। क्रामाकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व सांसद तथा राज्यको पार्वत्य विकास मन्त्री दावा लामाको दार्जिलिङ अन्तर्गत सिहमारीको भानुग्राम निवासी धनरूपा तामाङको घरमा आफ्नो जीवनको अन्तिम सास फेरेको जनाएको छ। आफ्ना पिता साबुत लामाको पालोदेखिकै विद्रोही विरासत बोकेका दावा लामा चुङथुङ कमानका मजदूर संगठन बाहेक समस्त पुलबजार बिजनबारी इलाकाका मजदूर आन्दोलन साथै विराट बिजनबारी ब्लकका शोषित किसानहरूका सङ्घर्षलाई जोडदार तुल्याए। सारा भारत तथा पश्चिम बंगालमा चलेको अत्याचारी कंग्रेसी शासनमा परी उनी सन् १९७३ देखि १९७७ सम्म यातनमय कैद खानामा परे। १९७७ मा बंगालमा वामफ्रन्ट सरकार कायम भएपछि ८० को दशकदेखि लामो समयसम्म उनी पार्वतीय विकास मन्त्रीको पदमा रही पहाडको निम्ति थुप्रै महत्वपूर्ण विकास कार्यमा योगदान दिन सक्रिय रहेको क्रामाकपाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। गोर्खा जातिको अस्मिताको सवालमा उठेको हिंसात्मक गोर्खाल्याण्ड आन्दोलन, बंगाली अन्ध जातिवादको विरुद्ध माक्सवादी पार्टीभित्र उठेको विद्रोह तथा पहाडका विद्रोही माकपा नेताहरूद्वारा नया पार्टी क्रामाकपा गठन गरिन्दा दावा लामा आफु राज्यसभा सांसद छँदै पनि त्यो पार्टी त्याग गरी क्रामाकपामा सामेल हुनुले जातिप्रतिको इमान्दारी,त्याग भावना र सही क्रान्तिकारीता छर्लङ्ग भएको थियो भनी बताएका छन्।पहाडको राजनैतिक इतिहासमा सुनौलो अक्षरले लेखिनपर्ने अध्याय यसरी उनले रचे। सन् १९९६ मा क्रामाकपाको गठनपछि यसले गोर्खाल्याण्ड आन्दोलनमा चलाएको सन् १९९८ – २००० को सर्वदलीय मोर्चा (जसमा गोरामुमो बाहेक) आठवटा पार्टी सामेल थिए र यसले तत्कालीन बाजपेयी, आडवाणी र सुषमा राजमा चलाएको लगातार दिल्ली अभियानमा दावा लामा सांसदकालीन भूमिका खुबै महत्त्वपूर्ण थियो। त्यसपछि पनि दार्जिलिङको राजनैतिक पट परिवर्तन सँगै गोर्खाल्याण्डको सवाललाई दिल्ली दरबारमा पुर्याउन आफ्ना जीवनका अन्तिमकाल (सन् २०२३) सम्म उनी शारीरिक रूपमा अशक्त छँदा पनि मानसिक रूपमा सक्रिय रहेको पनि विज्ञप्तिमा बताएका छन्। आफ्ना जीवन परिचर्यामा, अति सरल, विनम्र, निष्कपट र इमानदार दावा लामा पहाडी राजनैतिक इतिहासका अमूल्य धरोहर हुन। क्रामाकपा गोर्खा जातीय मुक्तिसंगै शोषित वर्गका मुक्ति योद्धा दावा लामा प्रति भावमय श्रद्धाञ्जलि अर्पण गर्दछ भनी क्रामाकपा प्रमुख आरबी राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement