भारतीय सेना, राज्य प्रकोप व्यवस्थापन टोली र पुलिसबलद्वारा उद्धार जारी
गान्तोक: मङ्गलबार (४ अप्रेल) बिहान करिब ११ बजेतिर, एमएस १५ नजिकैको गान्तोक-नाथुला जेएनएम सडकमा ठूलो हिमपैह्रो गएको छ। नाथुला जाने बाटोमा करिब ११ जना पर्यटकसहित केही सवारीसाधन हिउँमुनि पुरिएको आशंका गरिएको छ। त्रिशक्ति कोर्प्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकका टोलीहरूले तत्काल उद्धार कार्य शुरु गरेका छन्। दिउँसो ४ बजेसम्म २३ जना पर्यटकहरूलाई उद्धार गरिएको छ भने ६ जनालाई गहिरो खाडलबाट बाहिर निकालिएको छ । उनीहरुलाई नजिकैको भारतीय सेनाको अस्पतालमा सारिएको छ। यस हिमपैह्रोमा सातजनाको मृतु भएको समाचार छ। सेना, राज्य आपदा व्यवस्थापन टोली र पुलिसबलद्वारा बाँकी व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ। यसबाहेक बाटोबाट हिउँ हटाएर अलपत्र परेका ३५० पर्यटक र ८० सवारी साधनको उद्धार गरिएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त तथ्य थाहा लागेको हो। उद्धार कार्य जारी नै रहेको बताइएको छ।

