खरसाङ: खरसाङ महकुमा अन्तर्गत लंगभ्यु चियाबारीमा स-साना नानीहरूद्वारा गठित एउटा संस्था लंगभ्यू परिवर्तन मुभमेन्टका सदस्याहरूले तिहारमा देउसी भैलो खेलेको अनि घरबाट आफ्ना अभिभावकले दिएका पकेट मनीबाट जमा गरेको पैसा संग्रह गरेर विपन्न लङ्भ्यु भेलाकूप निवासी तुले तामाङको पक्की घर निर्माण गरिरहेका छन्। ती बाल सदस्यहरू आफै त्यहाँ जान्छन् अनि मिस्त्रीसँगै काम गर्छन्। यो एउटा यस क्षेत्रको निम्ति उदाहरणीय अनि सराहनीय कार्य हो। गिटी, बालुवा, ढुङ्गा, सिमेन्ट इत्यादि बोक्ने, पिट्ने कामहरू उनीहरू आफै गर्छन्। यसबारे अवगत गराउँदै संस्थाकी प्रमुख सेमिका लामाले वृद्ध तुले तामाङको जीर्ण अवस्थाको घर सम्बन्धमा समाजिक सञ्जालमा केही वर्षअघि पोस्ट गरेको भए तापनि यस सम्बन्धमा कतैबाट पनि पहल नभएपछि अन्त्यमा संस्थाका सदस्यहरुले सल्लाह गरेर कसैको सहयोगबिना तिनीहरूले तिहारमा देउसीभैलो खेलेको पैसा अनि प्रत्येक सदस्यहरूबाट मासिक सङ्ग्रह गरेको पैसाले जीर्ण अवस्थामा रहेको घरलाई भत्काएर नयाँ पक्की घर बनाउन शुरू गरिएको जनाइन्।

घर निर्माण कार्य प्रायः सकिन लागेको जनाउँदै यद्यपि अझै घरको छानो लगाउनु अनि भित्तामा इँटा लगाउने कार्य बाँकी रहेको जनाउँदै यसको निम्ति कसैले सहयोग गर्न चाहेको खण्डमा संस्थासँग सम्पर्क गर्ने अनुरोध गरेकी छन्। यसबारे घरधनी तुले तामाङ अनि हाँस्य कलाकार अनिल राई आम्बोले पनि जानकारी दिएका छन्।