६ अप्रेलको लागि मुख्यमन्त्रीले गराइन् सतर्क

मुख्यमन्त्री ममता ब्यानर्जी

पूर्वी मिदनापुर: मुख्यमन्त्री ममता ब्यानर्जीले फेरि एक पटक भाजपालाई आलोचना गर्दै विभिन्न ठाउँमा हिंसाको लागि जिम्मेदार ठहराएकी छिन्। उनले हनुमान जयन्तीअघि फेरि सतर्क गराएकी छिन्। ‘बजरंगबलीलाई हामी सबैले पूजा गर्छौं, तर त्यसमा हिंसा हुन दिने छैनौं’, उनले भनिन्। रामनवमीको जुलुसमा केही भागहरूमा हिंसा भएपछि, मुख्यमन्त्रीले ६ अप्रेलमा यस्तै तनावबारे सतर्क गराएकी छिन्। सोमबार पूर्वी मिदनापुरको ठाकुरनगर मैदानमा सार्वजनिक वितरण कार्यक्रममा मुख्यमन्त्रीले ६ अप्रेलमा प्रशासन र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिरहेको बताइन्।

मुख्यमन्त्रीले भारतीय जनता पार्टीका मानिसहरूले जानाबुझी राज्यका अल्पसंख्यक क्षेत्रमा अनुमतिबिना र्‍याली निकालेको आरोप लगाइन्। ‘रिसडामा पनि त्यस्तै भयो’, मुख्यमन्त्रीले भनिन्, ‘रामनवमीको जात्रा पाँच दिनसम्म किन निकाल्ने? मनाउने दिनमा यस्ता र्‍याली निकाल्न सकिन्छ। हामीलाई कुनै आपत्ति छैन, तर हतियार साथमा लैजानुहुन्न। र्‍यालीमा बुलडोजर चलाउनु बङ्गालको संस्कृति होइन। बन्दुक बोकेर र्‍याली निकाल्न मिल्दैनl’

मुख्यमन्त्रीले केन्द्रबाट कोष नपाएको आरोप लगाउँदै भाजपाको आलोचना गरिन्। १७ लाख जनतालाई केन्द्रले पैसा नदिएको आरोप उनले लगाइन्। ‘सडक निर्माण, आवास योजना, सय दिनको कामको रकम पनि रोक्का गरिएको छ। उनीहरूको चाहना पूरा हुनेछैन। म जनतालाई अपील गर्दछु, पञ्चायत चुनाव र सन् २०२४ को चुनावमा दङ्गा गर्ने पार्टी भाजपालाई समर्थन नगर्नुहोस्’, उनले भनिन्l   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement