गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङ गुजरातको पोरबन्दरस्थित माधवपुर घेडमा आयोजित माधवपुर घेड महोत्सव २०२३ मा आइतवार मुख्य अतिथिको रूपमा सहभागी बने। द्वारकामा द्वारकाधीश मन्दिर र नागेश्वर ज्योर्तिलिङको दर्शन गरेपछि सॉंझ मुख्यमन्त्री महोत्सवमा सहभागी बनेका थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा यस सुन्दर महोत्सवमा गुजरात र पूर्वोत्तरको समृद्ध पारम्परिक धरोहर अनुभव गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा एक भारत श्रेष्ठ भारतको भावनालाई प्रवर्द्धन गर्दै सांस्कृतिक आदान-प्रदानको माध्यमद्वारा देशलाई एकजुट गर्ने पहल उदाहरणीय र प्रशंसनीय रहेको बताए। उनले गुजरातका राज्यपाल आचार्य देवव्रत, मुख्यमन्त्री भूपेन्द्र पटेल र गुजरात सरकारप्रति न्यानो अतिथि सत्कारको निम्ति कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा गुजरात र पूर्वात्तर राज्यका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। सिक्किमका कलाकारहरूले सिङ्गी छाम र याक छाम प्रस्तुत गरे। कार्यक्रममा सिक्किम सरकारका मन्त्री सन्जीत खरेल, विधायक टीटी भोटिया, विधायक पिन्चो नामग्याल लेप्चा, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, सिक्किम हाउस, नयॉं दिल्लीका आवास आयुक्त अश्विनी कुमार चन्द पनि सहभागी बनेका थिए।