खरसाङ: तीनधारेको श्रीगणेश सहकारी समितिको आयोजनामा विश्व पर्यावरण दिवस पालन गर्दै बिरुवाहरू रोप्ने कार्य गरिएको छ। श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्रीले बताए अनुसार गत वर्ष झैं यसपाली पनि समितिले पर्यावरण दिवस पालन गर्दै तीनधारेको चिल्ड्रेन पार्क परिसरमा रुखका विरूवाहरू रोप्ने कार्य साथै चिल्ड्रेन पार्क सरसफाई गरिने कार्य सम्पन्न गरिएको छ। यस कार्यमा तीनधारे क्षेत्रको स्वनिर्भर दलहरू लगायत श्रीगणेश सहकारी समितिको उप सभापति एंव जीटीए चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्री पनि उपस्थित रहेका थिए। उनको बाहुलीबाट नै रुखका विरूवाहरू रोप्ने कार्य सम्पन्न गरिएको थियो भनी जानकारी प्राप्त भएको छ। ती सबै बिरुवाहरू गाड़ीधुरा रेञ्जक तर्फबाट उपलब्ध गराइएकोमा श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्रीले आभार प्रकट गरिएका छन्। उनले आउँदो दिनमा १५ जुलाईदेखि आरण्य सप्ताह पालन गरिने पनि जानकारी गराएका छन्।
अम्बटे: खरसाङको अम्बटेस्थित कुमालटार कल्याण संघद्वारा विश्व पर्यावरण दिवस पालन गर्दै बिरुवा रोपनको कार्य सम्पन्न गरिएको छ। यस अवसरमा विभिन्न प्रजातिको लगभग ४५० वटा जति रुखका विरूवाहरू रोप्ने कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। कुमालटार कल्याण संघले पर्यावरण दिवस पालन गर्दै पर्यावरण विषयमा जागरुकता फैलाउने कार्य पनि सम्पन्न गरेका छन्। यस अवसरमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा पुरोहित गंगाप्रसाद शर्मा, साहित्यकार सुदर्शन अम्बटे, साइमन लेम्लटको प्राचार्य प्रणय सुब्बा, लाली गुराँस संस्थाबाट सुमेन्द्र तामाङ, ज्ञानदीप स्कूलको शिक्षिकाहरू लगायत प्रशिल तामाङ र अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई निगम तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रणय सुब्बा, सोनी लामा, सुमेन्द्र तामाङ आदिले आफ्नो वक्तव्यमा कुमालटार कल्याण संघको कार्यप्रति प्रशंसा गरेका छन्। विश्व पर्यावरण दिवस पालनसितै विभिन्न प्रजातिको विरुवाहरू रोपन कार्यमा उपस्थिति हुने तथा सहयोग गर्नेहरू सबैलाई संघको सुकराज तामाङले आभार प्रकट गरेका छन्।